नागोया/जापान। सोमबार तोयोआके नगर सभाले पारित गरेको यस अध्यादेशअनुसार अबदेखि विद्यालय र कामबाहेक अन्य समयमा स्मार्टफोन, भिडियो गेम कन्सोल र डिजिटल उपकरणको प्रयोग दैनिक दुई घण्टासम्म सीमित राख्न सिफारिस गरिएको छ। तर, यो नियम उल्लङ्घन गर्दा कुनै कानुनी सजाय वा जरिवाना हुने छैन।

यो अध्यादेश अक्टोबर १ देखि कार्यान्वयनमा आउनेछ। अत्यधिक प्रविधि प्रयोगका कारण निद्रा कमी, परिवारसँगको समय घट्ने जस्ता असर देखिन सक्ने भन्दै यसलाई जापानकै पहिलो खालको नियम मानिएको छ।

अध्यादेशले प्राथमिक तहका बालबालिकालाई राति ९ बजेपछि र माध्यमिक तहका विद्यार्थी तथा सोभन्दा माथिका बालबालिकालाई राति १० बजेपछि स्मार्टफोन प्रयोग नगर्न आग्रह गरेको छ। “शारीरिक र मानसिक विकासका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ” भन्ने उल्लेख गर्दै यो नियम विशेषगरी १८ वर्षमुनिका सबैका लागि लागू हुने गरी बनाइएको हो।

अभिभावकहरूले आफ्ना घरमा उपकरण प्रयोगसम्बन्धी नियम बनाउनुपर्ने पनि भनिएको छ। यसका लागि अभिभावकले नगर प्रशासनसँग परामर्श गर्न सक्ने प्रणाली सुरु गर्ने प्रतिबद्धता पनि गरिएको छ।

तोयोआकेका मेयर मासाफुमी कोउकीले स्वास्थ्य मन्त्रालयले तय गरेको स्वस्थ निद्रा मापदण्डका आधारमा स्मार्टफोन प्रयोगको समय २ घण्टा निर्धारण गरिएको बताएका छन्। उनका अनुसार सामान्यतया २ घण्टाभन्दा बढी प्रयोगले निद्रामा प्रतिकूल असर पार्न सक्छ भन्ने निष्कर्ष निकालिएको हो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार