टोकियो/जापान। जापानको गहिरो समुद्री अनुसन्धानलाई गिनिज वर्ल्ड रेकर्डले आधिकारिक मान्यता दिएको छ। जापानी अनुसन्धान जहाज चिक्यु ले गत वर्ष गरेको ड्रिलिङमार्फत विश्वकै सबैभन्दा गहिरो वैज्ञानिक समुद्री ड्रिलिङको रेकर्ड कायम गरेको हो।

चिक्यु जहाजको उपकरणले समुद्री सतहदेखि ६ हजार ८ सय ९७ दशमलव ५ मिटर तलबाट ड्रिल सुरु गरी, समुद्री सतहभित्र थप ९८० मिटर प्वाल पार्‍यो। यसरी जहाजको ड्रिल पाइपको कुल लम्बाइ ७ हजार ९ सय ६ मिटर पुगेको थियो।

यो अनुसन्धान गत वर्ष सेप्टेम्बरमा मियागी प्रान्तको तट नजिकैको जापान ट्रेञ्च क्षेत्रमा गरिएको हो। अनुसन्धानको उद्देश्य सन् २०११ मा पुर्वी जापान आएको महाभूकम्पको कारण र त्यसको वैज्ञानिक कार्यविधि बुझ्ने रहेको थियो।

चिक्यु जहाज जापानको समुद्र–पृथ्वी विज्ञान तथा प्रविधि निकाय (JAMSTEC) को स्वामित्वमा छ भने यसको सञ्चालन Mantle Quest Japan ले गर्दै आएको छ।

बुधबार टोकियोमा आयोजित प्रमाणपत्र समारोहमा JAMSTEC का अध्यक्ष हिरोयुकी यामातो ले भने,
“हाम्रो प्रविधि विश्वले मान्यता दिएको प्रमाणका रूपमा यसलाई हामीले खुशीसाथ स्वीकार गरेका छौँ।”

त्यस्तै Mantle Quest Japan का अध्यक्ष हिरोयासु इशिगुरो ले भने,“यो विश्वव्यापी रूपमा हाम्रो ड्रिलिङ तथा सञ्चालन प्रविधि प्रशंसित भएको अमूल्य रेकर्ड हो।”

यस उपलब्धिलाई जापानले गहिरो समुद्री अनुसन्धानमा आफ्नो अग्रणी क्षमता प्रमाणित गर्ने ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार