ओकायामा/जापान। जापान अत्यन्तै व्यवस्थित मुलुक हो। यहाँका सरकारी सेवा प्रदायकहरू झन् विश्वकै सबैभन्दा विश्वासिला र भरपर्दा मानिन्छन्। प्रायः विश्वभरका मानिसहरूले सेवाको गुणस्तरको उदाहरण दिन जापानलाई नै उद्धृत गर्छन्। तर, यति व्यवस्थित मानिएको देशमा पनि कहिलेकाहीँ अपत्यारिला घटनाहरू हुने गरेका छन्।

त्यस्तै एक घटना ओकायामा प्रिफेक्चरको तामानो सिटीमा देखिएको छ। शहरले एक निवासीको करिब ४३ लाख ८० हजार येन बराबरको पानी तथा फोहरपानी शुल्क असुल गरेको छ।

यो गल्ती पानीको मीटर परिवर्तन गर्दा भएको हो। वास्तविक प्रारम्भिक सङ्ख्या “१” भए पनि, कर्मचारीले प्रणालीमा पुरानो मीटरको सङ्ख्या “२४५” प्रविष्ट गरे। त्यसपछि पनि त्रुटि पत्ता नलाग्दा, प्रयोग नभएको अवस्थालाई समेत ९,७५६ घनमिटर पानी प्रयोग भएको देखाइयो। यसै आधारमा पानी शुल्क करिब १२ लाख ८५ हजार येन र फोहरपानी शुल्क करिब ३० लाख ९९ हजार येन गणना भयो।

तर वास्तविकतामा, सो अवधिमा पानीको प्रयोग शुल्क १९८० येन मात्रै हुनुपर्ने थियो।यहि सेप्टेम्बर १० मा पीडित व्यक्तिको बैंक खाताबाट अस्वाभाविक रूपमा ठूलो रकम काटिएपछि २२ तारिख सहरको उक्त त्रुटि खुलासा भएको हो। त्यसपछि २५ तारिख उक्त सहर प्रशासनले सबै अतिरिक्त असुल गरिएको रकम फिर्ता गरिसकेको छ।

तामानो सिटीका अधिकारीहरूले भनेका छन् — “हामीले अब चेक प्रणालीलाई अझ मजबुत बनाउनेछौँ र काम गर्ने प्रक्रियालाई पुनरावलोकन गरेर यस्ता गल्ती दोहोरिन नदिने ग्यारेन्टी गर्नेछौँ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार