टोकियो/ जाापान। जापान सरकारले प्रत्येक ५ वर्षमा गर्ने राष्ट्रिय जनगणना यस वर्ष पनि सुरु भइसकेको छ। सेप्टेम्बर २० तारिखदेखि प्रश्नावली वितरण थालिएको छ भने अक्टोबर ८ भित्र सबैले जवाफ दिनुपर्ने व्यवस्था छ। तर यसबीच जनगणनाको नाममा ठगी गर्नेहरू सक्रिय रहेको चेतावनी समेत दिइएको छ।

जापानमा बस्ने सबै व्यक्ति, चाहे उनीहरू जापानी नागरिक हुन् वा विदेशी, यस जनगणनामा समेटिन्छन्। अनिवार्य रूपमा जवाफ दिनुपर्ने यो सर्वेक्षण अनलाइन, हुलाक मार्फत वा प्रत्यक्ष गणकहरुलाई बुझाएर पूरा गर्न सकिन्छ। यसमार्फत देशको जनसंख्या र परिवारसम्बन्धी नयाँ तथ्यांक संकलन गरिनेछ।

ठगीका प्रयासहरू
अघिल्ला वर्षहरूमा जनगणनाको नाममा ठगी भएका घटनाहरू उजागर भएका छन्। यस अघि कसैले गणनाकर्मीको नाममा घरमा आएर परिवार सदस्य र आम्दानीबारे सोधपुछ गरेको घटना उजुरी भएको थियो। त्यस्तै अर्को घटनामा अज्ञात नम्बरबाट फोन गरेर परिवारका सदस्य र उनीहरूले काम गर्ने कम्पनीबारे जानकारी मागिएको थियो। यसै वर्ष, २ घण्टाभित्र जनगणनामा जवाफ नदिए फोन प्रयोग गर्न नसक्ने भन्दै फोनमार्फत अंक हाल्न लगाउने प्रयास भएको उजुरी गरिएको छ।

जापान सरकारले कहिल्यै इमेलमार्फत जनगणनामा जवाफ माग्दैन। तर केही व्यक्तिहरूलाई उपहार दिने प्रलोभन देखाएर आएको इमेल प्राप्त भएको छ। ती इमेलमा दिइएको लिंक क्लिक गरेमा ठगीका वेबसाइटतर्फ लैजाने खतरा छ।

वास्तविक गणक कसरी चिन्ने ?
गणकहरुले आधिकारिक परिचयपत्र (ID) र निलो रंगको विशेष ब्यागसहित मात्र घरघरमा पुग्ने गर्छन्। उनीहरूले परिवार प्रमुखको नाम वा आवश्यक प्रश्नावलीको संख्याबारे सोध्न सक्छन्, तर कहिल्यै पनि आम्दानी वा सम्पत्तिसम्बन्धी प्रश्न गर्दैनन्।

राष्ट्रिय उपभोक्ता मामिला केन्द्रले शंका लागेमा तुरुन्त वार्तालाप रोक्न र स्थानीय प्रशासन, उपभोक्ता केन्द्र वा प्रहरीलाई सम्पर्क गर्न आह्वान गरेको छ।

जापानमा बस्ने विदेशीहरू समेत समेटिने यस जनगणनामा भाग लिनु अनिवार्य छ। तर, यसैको नाममा हुने सम्भावित ठगी वा दुरुपयोगबाट जोगिन विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार