टोकियो,जापान। जापानमा सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नयाँ नेतृ सानाए ताकाइची चयन भएपछि जापानी येनको मूल्य अमेरिकी डलरको तुलनामा करिब दुई महिनापछि पहिलोपटक १ डलर बराबर १५० येन स्तरसम्म कमजोर भएको छ।

वित्तीय बजारमा ताकाइचीले भविष्यमा ढिलो ब्याजदर वृद्धि र सहुलियतपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिने सम्भावना रहेको अड्कलबाजी फैलिएको कारण, लगानीकर्ताहरूले येन बेच्ने क्रम बढाएका छन्।

अक्टोबर ६ तारिख साँझ ५ बजेसम्मको कारोबारमा येनको दर अघिल्लो साता अन्त्यको तुलनामा २. ६१ येनले कमजोर हुँदै १ डलर बराबर १५०. ३ येनसम्मको स्तरमा कारोबार हुन पुग्यो । यो स्तर सन् २०२५ को अगस्टयता पहिलोपटक देखिएको हो।

त्यस्तै, युरोको तुलनामा पनि येन २.१ येनले घट्दै १ युरो बराबर १७४.९५ पुगेको छ। कारोबारको क्रममा केही समयका लागि दर १ युरो बराबर १७६ येन सम्म झरेको थियो, जुन सन् १९९९ मा युरो सुरु भएपछि हालसम्मको सबैभन्दा न्यून स्तर हो।

वित्तीय विश्लेषकहरूले भनेका छन्, “ताकाइची नयाँ अध्यक्ष बनेपछि बजारले उनको आर्थिक नीतिमा सरकारी खर्च र वित्तीय विस्तारको सम्भावना देखिरहेको छ। यस्तो नीतिले जापानी ऋणपत्र बजारका ब्याजदर र विदेशी विनिमय बजारमा प्रत्यक्ष असर पार्न सक्छ, जसले लगानीकर्ताहरुलाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ। साथै, उनीहरूको भनाइमा बैंक अफ जापानले थप ब्याजदर वृद्धि गर्न गाह्रो हुने अनुमान बजारमा बलियो बनेको छ, जसले डलर र युरो दुवैको तुलनामा येनलाई कमजोर बनाएको हो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार