टोकियो,जापान। जापानमा सन् २०२५ अगस्ट महिनामा वास्तविक तलब अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले घटेको सरकारी तथ्यांकले देखाएको छ। लगातार आठौँ महिनासम्म तलब घट्नुको कारण लगातार बढ्दो मुद्रास्फीति रहेको बताइएको छ, जसले कामदारहरूको आम्दानी वृद्धि भन्दा बढी असर पारेको हो।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोमिनल तलब भने १.५ प्रतिशतले बढ्दै ३,००,५१७ येन पुगेको छ। यो वृद्धि लगातार ४४ महिनासम्म कायम रहेको बताइएको छ।

तर उपभोक्ता मूल्य सूचकाङ्क अगस्ट महिनामा ३.१ प्रतिशतले बढ्दा वास्तविक तलबमा गिरावट आएको हो। विशेषगरी खाद्यान्न मूल्यवृद्धिले उपभोक्ताको क्रयशक्ति घटाएको जनाइएको छ।

अगस्ट महिनामा नोमिनल तलब वृद्धि दर पनि कम हुँदै गएको देखिएको छ ।यो, जुन महिनामा ३.१ प्रतिशत र जुलाईमा ३.४ प्रतिशत थियो, त्यो घटेर १.५ प्रतिशतमा सीमित भएको हो। यो धटबढको कारण ग्रीष्मकालीन बोनसको प्रभाव कम हुनु रहेको छ।
गत वर्ष भने जून, जुलाई, नोभेम्बर र डिसेम्बर महिनामा बोनसको कारण वास्तविक तलबमा वृद्धि भएको थियो।

मन्त्रालयका एक अधिकारीका अनुसार आगामी महिनाहरूमा पनि वास्तविक तलबको प्रवृत्ति उपभोक्ता मूल्यको उतारचढावसँगै तय हुनेछ।
सरकारका लागि तलब वृद्धि प्रमुख नीतिगत उद्देश्यको रूपमा रहेको छ, किनभने बढ्दो मूल्यवृद्धिले परिवारहरूको जीवनस्तरमा प्रत्यक्ष असर पारेको छ।

यस्तै, जापान बैंकले पनि आगामी ब्याजदर वृद्धि कहिले गर्ने भन्ने निर्णयमा ज्यालादर र मूल्यवृद्धिको गतिलाई ध्यानपूर्वक अवलोकन गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार