टोकियो,जापान। जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीले मंगलबार बैंक अफ जापानलाई मुद्रास्फीति दरलाई स्थायी रूपमा २ प्रतिशतमा पुर्‍याउने लक्ष्यका लागि तलव वृद्धिद्वारा प्रेरित मुद्रास्फीति नीतिलाई अघि बढाउन आग्रह गरेकिछन् ।

उनले पत्रकार सम्मेलनमा भनिन् – “केन्द्रीय बैंक र सरकारबीच नीति समन्वय र घनिष्ठ संवाद नै सबैभन्दा महत्वपूर्ण कुरा हो। म चाहन्छु बैंक अफ जापानले लागत वृद्धि मात्र होइन, ज्याला वृद्धिसँग पनि सन्तुलित स्थायी मुद्रास्फीति प्राप्त गर्ने दिशामा मौद्रिक नीति सञ्चालन गरोस्।”

ताकाइचीले थपिन् कि मौद्रिक नीति सरकारको समग्र आर्थिक रणनीतिको हिस्सा हो र अन्तिम जिम्मेवारी सरकारकै हुन्छ, तर त्यसका विशिष्ट माध्यम र निर्णय जापान बैंकको अधिकार क्षेत्रभित्र पर्छ।

बैंक अफ जापानको आगामी २ दिने नीति बैठक अक्टोबर २९ र ३० हुनेछ। जहाँ बोर्डले आर्थिक वृद्धिदर र मुद्रास्फीति पूर्वानुमान पुनरावलोकन गर्दै हालको ०.५ प्रतिशत ब्याजदर बढाउने वा नबढाउने विषयमा छलफल गर्नेछ।

नव निर्वाचित प्रधानमंत्री सानाए ताकाइची, विस्तारमुखी आर्थिक र मौद्रिक नीति समर्थक नेताका रूपमा चिनिन्छिन् । उनको प्रधानमन्त्री चयनको घोषणापछि बजारमा येनको मूल्य घट्यो र सरकारी ऋणपत्रको ब्याजदर पनि तल झर्‍यो, किनभने लगानीकर्ताहरूले ब्याजदर बढाउने सम्भावना केही समयका लागि स्थगित हुने आँकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार