टोकियो/जापान। जापानभरका सुपरमार्केटहरूमा अक्टोबर १९ सम्मको साताभित्र बिक्री भएका चामलको औसत मूल्य पुनः बढेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार ५ किलो चामलको औसत खुद्रा मूल्य करसहित ४ हजार २ सय ५१ येन पुगेको छ, जुन अघिल्लो साताको तुलनामा १०९ येनले वृद्धि भएको हो। यो वृद्धि पाँच सातापछि पहिलो पटक भएको हो।

मन्त्रालयले देशभरका करिब १ हजार सुपरमार्केटमा बिक्री भएका चामलको मूल्य संकलन गरी हरेक साताको औसत मूल्य सार्वजनिक गर्दै आएको छ। मन्त्रालयका अनुसार यो मूल्यवृद्धि विशेषगरी नयाँ चामलको बिक्री तीव्र बन्दै गएको र त्यसको उच्च मूल्यले बजार औसतलाई माथि धकेलेको कारण हो।

मन्त्रालयका अनुसार, यसवर्ष मार्चदेखि प्रतिस्पर्धात्मक बोलपत्रमार्फत बिक्री गरिएको भण्डारण चामल प्रायः सकिएको र बजारमा गत वर्षको चामल मिसाइएको ब्लेन्डेड चामलको प्रयोग बढेकोले पनि मूल्यवृद्धि भएको हो।

यस्तै, देशभरका करिब ६ हजार सुपरमार्केट र ड्रगस्टोरहरूमा बिक्री भएका चामलको औसत मूल्य पनि अघिल्लो साताको तुलनामा ३७ येनले बढेर ५ किलोका लागि करसहित ४२४७ येन पुगेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार