टोकियो,जापान। केहि समययता ओरालो लागेको जापानी येनको मूल्य थप कमजोर भएको छ। ३० अक्टोबरको न्यूयोर्क विदेशी विनिमय बजारमा एक डलरको विनिमय दर १५४ येनको बीचतिर पुग्दा, करीब ८ महिनापछि पहिलोपटक सबैभन्दा कमजोर देखिएको छ।

यो अवस्थाको कारण बैंक अफ जापानका गभर्नर उएदा काजुओले यसै वर्षभित्र ब्याजदर बढाउने सम्भावनाबारे सावधानीपूर्वक राखेको धारणालाई मानिएको छ।उनले पत्रकार सम्मेलनमा भनेका थिए कि, “आगामी वसन्तको मजदुर वार्ता (शुन्तो) का नतिजा र कम्पनीहरूको तलब समायोजनको गतिलाई हेरेर मात्र ब्याजदरबारे निर्णय लिनेछौं।”

उनको यो वक्तव्यपछि विदेशी मुद्रा बजारमा लगानीकर्ताहरूले “यसै वर्षभित्र ब्याजदर बढ्ने सम्भावना कम” भन्ने बुझाई गरे र त्यसअनुसार डलर खरिद तथा येन बिक्रीको प्रवृत्ति तीव्र भयो।

लन्डन विनिमय बजारमा एक डलर बराबर १५४ पुगेको येनको मूल्य न्यूयोर्कमा झन् तल झर्दै १५४.५ येनको हाराहारी पुग्यो। यो दर यस वर्षको फेब्रुअरी महिनापछि सबैभन्दा कमजोर स्तरमा पुगेको हो ।

साथै, अमेरिकी फेडरल रिजर्भका अध्यक्ष पावेलले डिसेम्बरमा ब्याजदर घटाउने सम्भावनाप्रति शंका व्यक्त गरेपछि, जापान र अमेरिकाबीचको ब्याजदरको अन्तर घट्न नसक्ने अनुमान बलियो बनेको छ।

विश्लेषकहरूका अनुसार, निकट भविष्यमा जापानी येन अझ केही समय कमजोर रहन सक्ने सम्भावना उच्च छ, जसको असर आयात मूल्य, पेट्रोलियम खर्च र उपभोग्य वस्तुहरूको मूल्यमा देखिन सक्नेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार