टोकियो,जापान। जापानमा अण्डाको औसत थोक मूल्य यस वर्षको अक्टोबर महिनामा सन् १९९३ पछि पहिलो पटक सबैभन्दा उच्च स्तरमा पुगेको छ। वर्षको सुरुवाततिर फैलिएको बर्ड फ्लूका कारण अण्डाको आपूर्ति घटेपछि मूल्यमा निरन्तर वृद्धि देखिएको हो। कृषि मन्त्रालयका अनुसार, यो मूल्य वृद्धि निकट भविष्यमा पनि कायम रहने सम्भावना छ।

पछिल्लो पटक सार्वजनिक गरिएको तथ्यांकअनुसार, टोकियो क्षेत्रमा अक्टोबर महिनामा मिडियम -साइज अण्डाको थोक मूल्य एक किलोका लागि औसत ३२६ येन पुगेको छ। यो अघिल्लो वर्षको सोही महिनाभन्दा ५१ येनले बढी हो र सन् १९९३ पछि अक्टोबर महिनाको हिसाबले सबैभन्दा उच्च दर हो। यो लगातार बाह्रौँ महिना हो जसमा अण्डाको मूल्य अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ।

त्यस्तै, अन्य प्रमुख सहरहरूमा पनि अण्डाको मूल्य बढेको छ। ओसाका क्षेत्रमा एक किलोको मूल्य ३३१ येन पुगेको छ भने नागोया र फुकुओकामा ३३६ येन पुगेको छ। यी सबै क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ५३ देखि ६६ येनसम्मको वृद्धि भएको कृषि, वन तथा मत्स्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, गत वर्षको अन्त्यदेखि यो वर्षको सुरुवातसम्म जापानका विभिन्न प्रान्तमा बर्ड फ्लूको कारण लाखौँ कुखुरा मार्नुपरेकोले अण्डाको आपूर्ति घटेको हो।

अण्डा उद्योगसँग सम्बन्धित स्रोतहरूका अनुसार, क्रिसमस केक, मिठाई तथा ओदेनजस्ता परिकारका लागि माग बढ्ने भएकाले वर्षको अन्त्यतिर मूल्य अझै उच्च रहन सक्ने देखिएको छ। यसैबीच, होक्काइदोमा अक्टोबर महिनामै बर्ड फ्लूको नयाँ संक्रमण पत्ता लागेपछि कृषि मन्त्रालयले मूल्यमा थप प्रभाव पर्न सक्ने चेतावनी दिएको छ। मन्त्रालयले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार