टोकियो/जापान। जापानमा यस वर्षको इन्फ्लुएन्जा संक्रमण असामान्य रूपमा तीव्र गतिमा फैलिरहेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार, देशभरका नियमित निगरानी स्वास्थ्य संस्थाहरूमा एक साताको अवधिमा हरेक केन्द्रमा औसत १४.९० नयाँ इन्फ्लुएन्जा संक्रमित भेटिएका छन्। यो दर चेतावनी स्तर १० भन्दा धेरै माथि पुगेको छ।

अघिल्लो साताको तुलनामा यो दर दोब्बरभन्दा बढी भएको हो। मन्त्रालयले करिब ३ हजार स्वास्थ्य संस्थाबाट प्राप्त विवरणको आधारमा तयार गरेको रिपोर्टले देखाउँछ कि संक्रमणको गति अत्यन्तै तीव्र छ र आगामी चार साताभित्र ठूलो स्तरको इन्फ्लुएन्जा महामारी फैलिन सक्ने संकेत मिलेको छ।

जापानका ४७ प्रान्तमध्ये २५ प्रान्तमा इन्फ्लुएन्जा संक्रमण दर चेतावनी स्तरभन्दा माथि पुगेको छ।सबैभन्दा बढी दर मियागी प्रान्तमा २८.५८ रहेको छ। त्यसपछि कानागावा (२८.४७) र साईतामा (२७.९१) प्रान्तमा उच्च दर देखिएको छ। यी तीनवटै प्रान्तको दर ३० को चेतावनी स्तर नजिक पुगेको हो।अन्य उच्च दर भएका क्षेत्रमा चिबा (२५.०४), होक्काइदो (२४.९९), ओकिनावा (२३.८०) र टोकियो (२३.६९) रहेका छन्।

विद्यालयहरूमा इन्फ्लुएन्जा संक्रमणको असर
स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म देशभरका २,३०७ शिक्षण संस्था, नर्सरी, प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरू ,आंशिक वा पूर्ण रूपमा बन्द भएका छन्। विद्यार्थी र शिक्षकहरूमा इन्फ्लुएन्जा संक्रमण फैलिन थालेपछि विद्यालयहरूले अस्थायी रूपमा कक्षा स्थगन गरेका छन्।

जापान यस वर्षको इन्फ्लुएन्जा सिजन  सेप्टेम्बरको अन्त्यतिर प्रवेश गरेको हो, जुन पछिल्ला २० वर्षमा दोस्रो सबैभन्दा चाँडो समय हो। चिकित्सकहरूले विद्यालय, कार्यालय र भीडभाड हुने स्थानहरूमा मास्कको प्रयोग, हात धुने बानी र नजिकको सम्पर्कमा सावधानी अपनाउन सल्लाह दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार