टोकियो/जापान। पछिल्ला वर्षहरुमा नेपाली प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा देखिन थालेका छन् । यसै क्रममा, अहिले पछिल्लो चरणमा जापानको ठूलो पर्दामा नेपाली अभिनेत्री सुजीता पाण्डेको अभिनयले चर्चा बटुलिरहेको छ। अर्घाखाँचीको मालारानी घर भएकी सुजिता हाल जापानमा रहेकी छन् र जापानी फिल्म उद्योगमा आफ्नो पाइला अगाडी बढाउँदै छिन् ।

सुजीताले अभिनय गरेको नयाँ फिल्मको नाम “२२nd Century Cat” हो। यस फिल्मको निर्देशक तथा निर्माता ओमोई सासाकी हुन्। फिल्मको कथानक विदेशी र जटिल प्रेम सम्बन्ध र सांस्कृतिक द्वन्द्वमा आधारित छ। सुजीताले फिल्ममा “अन्जु” नामक पात्रको भूमिका निभाएकी छिन्। उनको पात्र दुःख भोग्ने विदेशी युवतीको भूमिकामा छ, जसले दर्शकको हृदयमा गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ।

सुजिताको परिवारका अनुसार,उनले यस फिल्ममा अभिनय गर्ने अवसर पाएको संयोग भने अनौठो परिस्थितिबाट सुरु भएको थियो। उनी जापानमा कम्बिनी स्टोरमा काम गर्दै थिइन्। त्यही क्रममा उनका ग्राहकहरूले उनलाई फिल्ममा काम गर्ने प्रस्ताव दिएका थिए। सुजीताले सुरुमा आफ्नो परिवारसँग परामर्श गरिन्। परिवारको अनुमति पाएपछि मात्र उनले औपचारिक रूपमा निर्देशकको प्रस्ताव स्विकार गरिन्।

सुजीता हाल नेपालबाट विद्यार्थी भिसामा जापानमा रहिरहेकी छन् र उनको पति सरोज भुषाल पनि पारिवारिक भिसामा साथै रहँदै आएका छन्। जापानी फिल्म उद्योगमा विदेशी पात्रको आवश्यकता भएकाले सुजीताको अभिनय क्षमता र नेपाली पृष्ठभूमि निर्देशकको ध्यानमा परेको बताईएको छ।

प्राप्त जानकारी अनुसार फिल्मको २ दिनको सुटिङ सफलतापूर्वक सम्पन्न भएको छ। यसका लागि सुजीतालाई १ लाख जापानी येन पारिश्रमिक प्रदान गरिएको छ। यस घटनाले नेपाली युवतीको लागि अन्तर्राष्ट्रिय फिल्म उद्योगमा अवसरहरू खुल्ने सम्भावना देखाएको छ।

सुजीताको अभिनयलाई दर्शकहरुले रुचाएको खण्डमा जापानी फिल्म उद्योगमा विदेशी प्रतिभा खोज्ने प्रवृत्तिलाई अझ सशक्त बन्न सक्नेछ।साथै, नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय मञ्चहरुमा पहुँच बढाउने मार्गमा यो एक कोशेढुंगो बन्न सक्नेछ।

जापानमै जन्मिएर हुर्किएका केहि नेपालीहरु जापानको चलचित्र तथा मनोरन्जन उद्योगमा विगतदेखिनै क्रियाशील छन् । यसैक्रममा विद्यार्थीकारुपमा जापान आईपुगेकी सुजाताको अभियन यात्राले सफलताको मार्ग पच्छ्याएमा थप अन्य नेपाली कलाकारहरुलाई पनि मनोरञ्जन उद्योगमा अवसरका ढोका खोलिदिन सक्ने सम्भावना रहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार