प्रतीकात्मक तस्वीरःएआई

टोकियो जापान। जापानभरका सुपरमार्केटहरूमा बिक्री हुने चामलको मूल्य पुनः उक्लिँदै ऐतिहासिक स्तरमा पुगेको छ। कृषि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ५ किलोग्राम चामलको औसत खुद्रा मूल्य ४,४४४ येन पुगेको छ, जुन गत साताको तुलनामा ११६ येन बढी हो। लगातार छैटौँ हप्तादेखि वृद्धि हुँदै आएको मूल्यहरूले, घर–परिवारको खर्च पहिले नै बढिरहेको अवस्थामा, उपभोक्तामाथि थप आर्थिक बोझ थपिदिएको छ।

सरकारले केही महिना अघि बजार स्थिरता ल्याउन आपतकालीन चामल भण्डार खुला गरेपछि मूल्य केही सहज भएको देखिए पनि हाल पुनः चामलको मूल्य तीव्र गतिमा बढिरहेको कृषि मन्त्रालयले जनाएको छ। देशभरका करिब ६ हजार सुपरमार्केटलाई समेटेर गरिएको सर्वेक्षणमा प्राप्त तथ्यांकअनुसार, फेब्रुअरीमा डेटा अभिलेख सुरू भएयताकै यो सबैभन्दा उच्च खुद्रा मूल्य हो।

विशेषज्ञहरूले गत वर्षको कमजोर उत्पादन, आपूर्ति शृंखला समस्या, बढ्दो ऊर्जा लागत र थोक बजार मूल्य समायोजन ढिलो हुनु मूल्य वृद्धिका मुख्य कारण भएको बताइरहेका छन्। यद्यपि हाल वितरण तथा थोक तहमा चामलको मूल्य केही घट्दो क्रममा देखिए पनि, खुद्रा बजारमा त्यसको असर पुग्न अझै केही समय लाग्ने अपेक्षा गरिएको छ।

मूल्यवृद्धिले विशेषगरी धेरै खर्च व्यवस्थापन गर्न बाध्य परिवार र पेंशनमा आश्रित वृद्धहरू प्रभावित भएको जनाइएको छ। दैनिक उपभोग्य वस्तु, ऊर्जा तथा सेवा शुल्क महँगो भइरहेको वर्तमान परिस्थितिमा, चामलको दर पुनः बढ्नु सर्वसाधारणका लागि थप बोझ सिद्धिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार