टोकियो। जापानमा सेवा क्षेत्रमा काम गर्ने कर्मचारीमाथि ग्राहकबाट हुने दुर्व्यवहार रोकथामका लागि बनेको संशोधित कानून सन् २०२६ अक्टोबर १ देखि लागू हुने भएको छ। श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले सोमबार श्रम नीति परिषद्को बैठकमार्फत कानूनको प्रावधान र कार्यान्वयन मिति सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार, यो कानून जापानभरका सबै कम्पनी र नगरपालिकाहरुमा अनिवार्य रूपमा लागू हुनेछ।

मन्त्रालयले कानूनसँगै जारी गरेको मार्गदर्शनमा ग्राहकबाट हुनसक्ने अपमानजनक व्यवहारका उदाहरण स्पष्ट रूपमा उल्लेख गरिएको छ। यसमा कर्मचारीलाई दोगेजा (घुँडा टेक्दै पूर्ण रूपमा झुकी क्षमा माग्न बाध्य गराउने), सोसल मिडियामा नकारात्मक समीक्षा हालिदिने धम्की दिने, अनुमति बिना फोटो वा भिडियो खिच्ने, अनावश्यक प्रश्न बारम्बार सोध्ने, लामो समय स्थान वा फोन लाइन रोक्ने जस्ता क्रियाकलापहरू दुव्र्यवहारको श्रेणीमा पर्ने बताइएको छ।

मार्गदर्शनअनुसार, यस्तो अवस्था उत्पन्न हुँदा कर्मचारीलाई एक्लै समस्याको सामना गर्न नदिइने र तुरुन्तै जिम्मेवार व्यवस्थापक वा सुपरभाइजरसँग सम्पर्क गर्नुपर्ने व्यवस्था लागू हुनेछ। सोहीसँगै, आक्रमण, धम्की वा कानुनी अपराधसँग मिल्दोजुल्दो गतिविधि देखिएमा प्रहरीलाई खबर गर्नुपर्ने स्पष्ट निर्देशन राखिएको छ।

जापानमा पछिल्लो समय “कासु–हारा” (Customer Harassment) शब्द व्यापक रूपमा प्रयोग हुन थालेको छ, जसले ग्राहकबाट कर्मचारीमाथि गरिने मानसिक दवाव, धम्की, अपमान तथा असहज व्यवहारलाई जनाउँछ। धेरै कर्मचारीले यस्तो व्यवहारका कारण आफ्नो नोकरी छोड्नु परेको, तनाव तथा स्वास्थ्य समस्या बढेको गुनासो सार्वजनिक गरेका छन्। विज्ञहरूले जापानी समाजमा गहिरो रूपमा बसेको “ग्राहक भगवान हुन्” भन्ने अवधारणा र अत्यधिक आतिथ्य संस्कृतिले यस्तो व्यवहारलाई प्रोत्साहन गरेको टिप्पणी गरेका छन्।

यो कानूनले सबै कम्पनी तथा संस्थालाई दुव्र्यवहार रोकथामका लागि स्पष्ट आन्तरिक नियम, पीडित कर्मचारीको लागि परामर्श प्रणाली, आवश्यक तालिम र सुरक्षात्मक व्यवस्था अनिवार्य रूपमा गठन गर्न निर्देशन दिएको छ। यससँगै, रोजगारीका अवसर खोजिरहेका विद्यार्थी तथा इन्टर्नहरूलाई यौन दुव्र्यवहारबाट जोगाउन विशेष प्रावधान समावेश गरिएको मन्त्रालयले जनाएको छ।

सन् २०२६ जुनमा पारित भएको यो संशोधित कानून आगामी वर्षदेखि पूर्ण रूपमा लागू हुने छ। सरकारले यो कानूनले जापानमा सेवा क्षेत्रमा काम गर्ने कर्मचारीहरूको सुरक्षा, सम्मान र मानसिक स्वास्थ्यको संरक्षणमा महत्वपूर्ण योगदान दिने अपेक्षा राखेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार