टोकियो/जापान। टोकियो महानगर सरकारले बढ्दो मूल्यवृद्धिको प्रभाव कम गर्न लक्षित अतिरिक्त पूरक बजेट सार्वजनिक गरेको छ। नयाँ प्रस्तावित योजनाअनुसार टोकियोले आफ्नै एप प्रयोग गर्ने नागरिकलाई प्राप्त हुने प्रोत्साहन पोइन्ट ७००० येनबाट बढाएर ११ हजार यने पुर्‍याउने निर्णय गरेको छ। यो सुविधा टोकियोमा बसोबास गर्ने र माइ नम्बर कार्डमार्फत प्रमाणीकरण गर्ने १५ वर्षभन्दा माथिका व्यक्तिहरूले पाउनेछन्। पोइन्ट वितरण कहिले सुरु गर्ने भन्नेबारे भने अझै छलफल जारी छ।

यससँगै आगामी वर्ष जनवरीदेखि अर्को वर्षको मार्चसम्म बच्चा जन्मने परिवारलाई सरकारले थप ३० हजार येन सहायता निर्णय गरेको छ। यसअघि नै नवजात शिशुका परिवारलाई दिइने १ लाख येन दिइने समर्थनसँग मिलाएर अब कुल १ लाख ३० हजार बराबरका बालक सामग्री वा सेवाहरू परिवारहरूले छनोट गरेर प्राप्त गर्न सक्ने व्यवस्था हुनेछ।

त्यसैगरी खाद्यान्न, विद्युतीय सेवा, ग्यासलगायतका जीवनोपयोगी सामान र सेवामा मूल्यवृद्धि बढ्दै गएको कारण, टोकियोले हेरचाह केन्द्र,कल्याण केन्द्र तथा अस्पतालहरूलाई उपलब्ध गराइने सहायता रकम पनि बढाउने निर्णय गरेको छ। यसरी तयार गरिएको अतिरिक्त पूरक बजेटको कुल रकम १ हजार ८२ अर्ब येन हुनेछ।

यो बजेट प्रस्ताव टोकियोले पहिल्यै सार्वजनिक गरेको आँधी तथा प्राकृतिक विपत्तिसँग सम्बन्धित आपतकालीन बजेट संगै मिलाएर डिसेम्बरमा बस्ने टोकियो प्रान्तीय सभामा प्रस्तुत गरिनेछ। दुवै प्रस्ताव मिलाएर कुल बजेट १,७२२ अर्ब यने हुने बताइएको छ।

टोकियोकी गभर्नर युरिको कोइके ले पत्रकार सम्मेलनमा भनिन् -“मूल्यवृद्धिको प्रभाव अझै जारी छ। यसले टोकियोका नागरिक र यहाँका व्यवसायिक क्षेत्रलाई थप आर्थिक दबाब परेको छ। सरकारको उद्देश्य यो बोझ कम गर्नु र आवश्यक सहायता पुर्‍याउनु हो।”

समग्र रूपमा यो समर्थन कार्यक्रम टोकियोमा बस्ने नागरिक, अभिभावक तथा सामाजिक हेरचाह–स्वास्थ्य क्षेत्रका संस्थाहरूलाई लक्षित राहत नीतिको रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार