टोकियो/जापान।जापानकी प्रधानमन्त्री सानाए ताकाइचीद्वारा गरिएको “म काम गर्नेछु — काम, काम, काम र काम” भन्ने टिप्पणी सन् २०२५ को जापानकै सबैभन्दा आकर्षक अभिव्यक्ति घोषणा गरिएको छ। यो नतिजा सोमबार उक्त सूची चयन गर्ने संस्था टि एण्ड डि होल्डिङस्ले ले सार्वजनिक गरेको हो।

ताकाइचीले सो अभिव्यक्ति गत अक्टोबर ४ तारिख सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व चुनाव जितेपछि दिएको विजय सम्बोधनमा प्रयोग गरेकी थिइन्। यही विजयपछि उनी जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। यही कारण “महिला प्रधानमन्त्री” भन्ने शब्दसमेत यस वर्षको लोकप्रिय अभिव्यक्तिको शीर्ष स्थानमा समान रूपमा राखिएको छ।

यो अभिव्यक्ति सार्वजनिक भएपछि जापानभरि तत्कालै बहस र विवाद सुरु भयो। विशेषगरी दीर्घ कार्यसमय र ‘कारोशी’ अर्थात् अत्यधिक कामका कारण हुने मृत्यु जस्ता गम्भीर श्रमसम्बन्धी समस्याले चर्चित जापानमा यो टिप्पणीलाई धेरैले संवेदनशील विषयसँग जोडेर आलोचना गरे।

ताकाइचीले अर्को प्रसंगमा एलडिपी सांसदहरूलाई सम्बोधन गर्दै भनेकी थिइन्-“म सबैलाई घोडाजस्तै काम गराउँछु। म स्वयंले ‘वर्क–लाइफ ब्यालेन्स’ भन्ने सोच त्यागेकी छु।”उनको यो भनाइपछि श्रमिक कानुन अभियन्ता, वकिल समूह, र श्रम अधिकारका अभियन्ताहरूले तीव्र असन्तोष व्यक्त गरेका थिए। उनीहरूले यस्तो अभिव्यक्तिले अत्यधिक कामलाई सामान्य बनाउने वातावरण जन्माउन सक्छ भनेर चेतावनी दिएका थिए।

सोमबार पुरस्कार ग्रहण समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ताकाइचीले आफ्नो भनाइको उद्देश्य स्पष्ट पार्ने प्रयास गरे। उनले भनिन्-“म अत्यधिक कामलाई प्रोत्साहित गर्न चाहन्नथेँ। यो राष्ट्र र जनताको लागि पूर्ण जिम्मेवारीका साथ काम गर्ने मेरो संकल्प मात्र थियो।”उनले आफ्नो अभिव्यक्ति गलत अर्थ्याइएको दाबी गर्दै जनताको चासोबारे आफू संवेदनशील रहेको उल्लेख गरिन्।

यस वर्ष सार्वजनिक गरिएका शीर्ष १० लोकप्रिय अभिव्यक्तिहरू मध्ये केही सामाजिक, खाद्य आपूर्ति र राजनीतिक विषयसँग जोडिएका शब्दहरू थिए।
त्यसमध्ये “को–को–को–माइ (古古米)”—अर्थात् सन् २०२१ आर्थिक वर्षमा भण्डारण गरिएको पुरानो चामल, जुन अभावपछि बजारमा पठाइएको थियो—चर्चामा रह्यो।

यस्तै, भालुको आक्रमण तीव्र रूपमा बढेपछि चर्चित बनेका “इमर्जेन्सी शूटिङ” र “भालुको क्षति” शब्दहरू पनि सूचीमा परेका थिए। पछिल्ला केही महिनामा घर-बस्तीमा प्रवेश गर्ने भालुको संख्या बढेपछि सरकारले गोली चलाउने नियमसमेत सहज बनाएको थियो।

सूचीमा परेका अन्य लोकप्रिय अभिव्यक्तिहरूमा—“ट्रम्प ट्यारिफ्स” र ओसाका एक्स्पो–२०२५ को चर्चित मस्कट “म्याकु–म्याकु” पनि समावेश छन्।

जापानमा हरेक वर्ष समाज, राजनीति, संस्कृति, प्रविधि तथा जनचासोमा परेका अभिव्यक्तिहरूलाई आधार मानेर यो सूची सार्वजनिक गरिन्छ। यस वर्षको चयनले जापानको वर्तमान राजनीतिक नेतृत्व, श्रम संस्कृति, खाद्य संकट तथा जनसुरक्षासँग सम्बन्धित बहसलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको देखिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार