ओकिनावा/जापान । नेपाल र जापानलाई हाँस्य–कलामार्फत जोड्दै आएका लोकप्रिय नेपाली हाँस्य कलाकार राम प्रसाद आचार्य आगामी जनवरीमा आयोजना हुने ओकिनावाको सबैभन्दा ठूलो कमेडी प्रतियोगिता O-1 グランプリ (O-1 ग्रान्ड–प्रिक्स) को फाइनल चरणमा प्रतिस्पर्धा गर्ने भएका छन्।

यो प्रतिष्ठित कमेडी शो हरेक वर्ष जनवरीमा ओकिनावा टेलिभिजन (OTV)द्वारा प्रत्यक्ष प्रसारण हुँदै आएको छ। नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिने भएकाले यसको दर्शक संख्या अत्यधिक रहन्छ र जापानभरि चर्चित कार्यक्रमको रूपमा परिचित छ। विभिन्न कमेडी समूह तथा कलाकारबीच हुने कडा प्रतिस्पर्धाका कारण यो शोले जापानी मनोरञ्जन क्षेत्रमा विशेष स्थान कायम गरेको छ।

O-1 ग्रान्ड–प्रिक्स मा प्रवेश पाउन कलाकारहरूले दुई चरण पार गर्नुपर्ने हुन्छ। पहिलो चरणमा जजहरूको अगाडि प्रत्यक्ष प्रस्तुति दिनुपर्छ भने दोस्रो चरणमा जजहरूका साथै दर्शकहरूको उपस्थितिमाझ प्रदर्शन गर्नुपर्ने हुन्छ। यी दुवै चुनौतीपूर्ण चरणहरू राम प्रसाद आचार्यको टोलीले उत्कृष्ट शैलीमा पार गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

अब अन्तिम चरणमा दर्शकको भोट नै निर्णायक हुने छ। फाइनल प्रत्यक्ष OTV प्रसारणका दौरान सञ्चालन हुनेछ र भोटिङ पनि त्यही रियल–टाइम प्रसारणमै खुल्नेछ। साथै यो कार्यक्रम YouTube बाट विश्वभर हेर्न र भोट गर्न सकिने भएकाले जापान मात्र होइन, विभिन्न देशमा रहेका नेपालीहरूले पनि आचार्यलाई समर्थन जनाउन सक्नेछन्।

फाइनल प्रवेशपछि कलाकार राम प्रसाद आचार्यले आफूले पाएको अवसरलाई नेपाली समुदायकै गर्वको विषय भनेर प्रतिक्रिया जनाएका छन्। उनि भन्छन् – “यो जीत मेरो मात्र होइन, हामी सबै नेपालीको सम्मान हुनेछ।” जापानमा रहँदै नेपाली हाँस्य–कलाकारले यति ठूलो प्रतिस्पर्धामा स्थान सुरक्षित गर्नु स्वयंमा गौरवपूर्ण उपलब्धि मानिएको छ।

कार्यक्रम हेर्ने तरिका, भोटिङ प्रक्रिया तथा प्रसारणको समयसूची सम्बन्धी विस्तृत जानकारी हामी यसै न्युज पोर्टलमा क्रमिकरुपमा प्रस्तुत गर्नेछौँ। कलाकार राम प्रसाद आचार्य तथा उनको समुह मेबाकारीले नेपाली समुदायलाई एकजुट भई सहयोग गर्न अनुरोध गर्दै आगामी अपडेट क्रमशः प्रदान गरिने जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार