टोकियो,जापान। जापानभरका सुपरमार्केटहरूमा चामलको खुद्रा मूल्य पुनः नयाँ रेकर्डमा पुगेको छ। कृषि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ५ किलो चामलको औसत मूल्य ४ हजार ३ सय ३५ येन पुगेको छ, जुन अघिल्लो हप्ताभन्दा २३ येन ले बढी हो। यो सन् २०२२ मार्चमा सर्वेक्षण सुरु भएयताकै सबैभन्दा उच्च मूल्य मानिन्छ।

नयाँ उत्पादन भएको ब्रान्डेड चामलको मूल्य ४ हजार ५ सय ५१ येन पुगेको छ, जसमा ५ येन को वृद्धि देखियो। तुलनात्मक रूपमा सस्तो मानिने ब्लेन्डेड चामलको मूल्य एकै हप्तामा ९२ येनले बढ्दै ३ हजार ८ सय ७० येन पुगेको छ। मूल्य बढ्नुको प्रमुख कारण सन् २०२५ मा उत्पादन भएको चामल मिश्रणमा प्रयोग हुन थाल्नु रहेको मन्त्रालयले जनाएको छ। सो हप्तामा बिक्री भएको कुल चामलमध्ये ६८ प्रतिशत ब्रान्ड राइस थियो।

लगभग १ हजार २ सय सुपरमार्केटमा गरिएको अर्को सर्वेक्षणमा चामलको औसत मूल्य ३ हजार ८ सय ३५ येन पुगेको छ, जहाँ १८० येन को वृद्धि देखियो। त्यस्तै, ६ हजार खुद्रा पसल (ड्रगस्टोरसहित) मा गरिएको अध्ययनले चामलको औसत मूल्य ४ हजार ३ सय १५ येन पुगेको पुष्टि गरेको छ, जहाँ मूल्य ९२ येन ले वृद्धि भएको छ।

विशेषज्ञहरूका अनुसार चामलको मूल्य विभिन्न प्रकारका खुद्रा पसलहरूमा निरन्तर बढ्दै गइरहेकोले उपभोक्तामाथि खर्चको चाप अझै बढ्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार