प्रतीकात्मक तस्वीरःएआई

टोकियो,जापान। जापानमा यस वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म मदिरा सेवन गरी साइकल चलाउने घटनामा गरिएको कारबाही अत्यधिक कडा बन्दै गएको छ। राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको तथ्यांक अनुसार, यस अवधिमा मदिरा सेवनपछि साइकल चलाएका कुल ८९६ जनाको ड्राइभिङ लाइसेन्स निलम्बन गरिएको छ। गत वर्ष यही अवधिमा केवल २ जना मात्र निलम्बनमा परेका थिए, जसले नयाँ कानुनी व्यवस्था लागू भएपछि कारबाहीको स्तर अत्यन्तै धेरै बढेको स्पष्ट देखिएको छ।

सन् २०२४ को नोभेम्बरमा संशोधित सडक यातायात ऐन लागू गरि स्वासमा ०.१५ mg/L वा सोभन्दा बढी मदिरा पिएको अवस्थामा साइकल चलाउनु सीधै दण्डनीय बनाइयो। यसपछि प्रहरीले यस्तो कार्यलाई “गाडी चलाउँदा पनि जोखिम बढाउने सम्भावना” भएको ठहर गर्दै, व्यापक रूपमा ड्राइभर लाइसेन्स निलम्बन गर्न थालेको बताइएको छ। अधिकारीहरूको भनाइमा, कानुन परिमार्जनपछि स्थानीय सुरक्षा समितिहरूले यस्तो घटनालाई उच्च जोखिमको रूपमा हेर्न थालेका छन्।

पहिले ड्राइभर लाइसेन्स निलम्बन प्रायः गाडी चलाउँदा भएको उल्लङ्घनको अंक अनुसार मात्र गरिन्थ्यो। तर, पुरानो कानुन अनुसार पनि गाडी चलाउँदा गम्भीर जोखिम हुने आकलन भएमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्न सकिने व्यवस्था थियो, जुन बढीमा मादक पदार्थ सेवन गर्ने व्यक्तिहरूमा प्रयोग हुन्थ्यो। गत वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म मदिरा सेवन गरेर साइकल चलाएको अत्यन्तै गम्भीर दुई घटनामा मात्र लाइसेन्स रोकिएको थियो, तर यो वर्ष कानुनी कडाइका कारण संख्या ह्वात्तै बढेको हो।

राष्ट्रिय प्रहरी एजेन्सीका वरिष्ठ अधिकारीका अनुसार, संशोधित कानुनले साइकल चालकमा पनि मदिरा सेवनको निर्दिष्ट सीमा तोकेपछि, प्रान्तगत सार्वजनिक सुरक्षा समितिहरूले मदिरा सेवन गरी साइकल चलाउने व्यक्तिहरूको ड्राइभर लाइसेन्स निलम्बन गर्न सुरू गरेको हो । यस विषयमा भएको क्षेत्रीय प्रहरी प्रमुखहरूको बैठकमा पनि, यस्तो कार्यमा कडा रूपमा कारबाही गर्न आग्रह गरिएको थियो।

ड्राइभर लाइसेन्स निलम्बनमा परेकाहरूको स्थायी ठेगानाअनुसार हेर्दा, ओसाका प्रान्तमा ३४० जना, टोकियोमा १२४ जना, वाकायामा प्रान्तमा ७३ जना, नारा प्रान्तमा ६६ जना कारबाहीमा परेका छन्। त्यस्तै आइची प्रान्तमा ४ जना, फुकुओका प्रान्तमा १७ जना निलम्बनमा परेका छन् ।

कसैले मदिरा सेवन गरी साइकल चलाएको पुष्टि भएमा, कानुनले ३ वर्षसम्म कैद वा ५०० हजार येनसम्म जरिवाना गर्न सकिने व्यवस्था गरेको छ। साथै, मदिरा सेवन गरेको चालकको साइकलमा सवार हुने व्यक्ति, वा त्यस्ता चालकलाई मदिरा पिलाउने व्यक्ति पनि कारबाहीको दायरामा पर्छन्। विशेषगरी डिसेम्बर महिनामा बोउनेनकाइ बढ्ने हुँदा, प्रहरीले सडकमा निगरानी र जाँच थप कडा बनाइरहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार