टोकियो।जापानको केन्द्रीय बैंक, बैंक अफ जापानले शुक्रबार ब्याजदर बढाउने अपेक्षा गरिएको छ। जनवरीयता पहिलोपटक हुन लागेको यो दरवृद्धिसँगै जापानको ब्याजदर करिब ३० वर्षयताकै उच्च स्तरमा पुग्ने अनुमान गरिएको छ। यसले सरकारी ऋण बजारमा देखिएको अस्थिरतालाई थप बढाउन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको बजेट अनुशासनप्रति बढ्दो चिन्ताका कारण पछिल्ला साताहरुमा जापानी सरकारी बन्डको प्रतिफल बढेको छ भने येन कमजोर बनेको छ। ब्याजदर बढ्दा जापानी बन्डहरू अन्य लगानीका साधनभन्दा आकर्षक देखिए पनि, बन्डको मूल्य घट्ने र त्यसको प्रतिफल बढ्ने अवस्था सिर्जना हुन्छ।

यसैबीच, जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा ०.६ प्रतिशतले संकुचित भएको छ। तर, बैंक अफ जापानका गभर्नर काजुओ उएदाले अमेरिकी भन्सार कर (ट्यारिफ) को प्रभाव सुरुमा आशंका गरिएजति गम्भीर नरहेको बताएका छन्। उनले फाइनान्सियल टाइम्ससँग भनेका छन्, “अहिलेसम्म अमेरिकी कम्पनीहरूले उपभोक्ता मूल्यमा पूर्ण रूपमा भार नथोपरी ट्यारिफको बोझ आफैंले सम्हालेका छन्।”

अर्कोतर्फ, जापानमा मुद्रास्फीति लामो समयदेखि बैंक अफ जापानले तोकेको २ प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ। अक्टोबरमा मुख्य उपभोक्ता मूल्य सूचकांक ३.० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ।

फिच सोलुसन्स अन्तर्गतको बीएमआईले प्रकाशित एक रिपोर्टमा भनिएको छ, “नीतिनिर्माताहरूले बाह्य चुनौतीहरू अझ तीव्र भएपछि ब्याजदर बढाउने अवसर बन्द हुन सक्ने बुझाइका कारण अहिले नै कदम चाल्नुपर्ने आवश्यकता महसुस गरिरहेका छन्।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार