टोकियो/जापान। बैंक अफ जापान (बीओजे) ले शुक्रबार मुख्य नीतिगत ब्याजदर बढाउँदै ०.७५ प्रतिशत पुर्‍याएको छ। यो स्तर ३० वर्षयताकै उच्च हो। जनवरीयता पहिलो पटक गरिएको यो वृद्धिको निर्णय सर्वसम्मत रूपमा गरिएको हो। बैंकले अर्थतन्त्रमा क्रमिक सुधारका संकेत देखिएको जनाएको छ।

ब्याजदर ०.५ प्रतिशतबाट ०.७५ प्रतिशतमा बढाउने निर्णय सार्वजनिक भएलगत्तै येन डलरको तुलनामा केही कमजोर भएको देखिएको छ। यो ब्याजदर सन् १९९५ पछिको सबैभन्दा उच्च स्तर हो।

निर्णयको व्याख्या गर्दै बैंक अफ जापन(बिओजे)ले जारी गरेको प्रतिवेदनमा “जापानको अर्थतन्त्र मध्यम रूपमा पुनरुत्थान हुँदै गएको छ” भनिएको छ। प्रतिवेदनमा अमेरिकी अर्थतन्त्र र विभिन्न मुलुकका व्यापार नीतिका असरबारे अझै अनिश्चितता रहे पनि ती जोखिम घट्दै गएको उल्लेख छ।

यसैबीच, नोभेम्बर महिनाको कोर उपभोक्ता मूल्य सूचकांक (ताजा खाद्य वस्तु बाहेक) ३ प्रतिशतमै स्थिर रहेको सरकारी तथ्यांकले देखाएको छ। यो दर बीओजेले लक्ष्य राखेको २ प्रतिशतभन्दा लामो समयदेखि माथि रहँदै आएको छ।

प्रधानमन्त्री सानाए ताकाइचीले अक्टोबरमा पद सम्हालेपछि मुद्रास्फीति विरुद्धको लडाइँलाई प्राथमिकता दिँदै आएकी छन्। उनको सरकारले यसै साता संसदबाट १८.३ ट्रिलियन येन बराबरको अतिरिक्त बजेट पारित गराएको छ, जसबाट ठूलो प्रोत्साहन प्याकेज सञ्चालन गरिनेछ। यद्यपि, उनले मौद्रिक नीतिको निर्णय स्वतन्त्र रूपमा बीओजेले नै गर्नुपर्ने धारणा राख्दै आएकी छन्।

बीओजेले गत वर्ष मार्चमा शून्यभन्दा तल रहेको ब्याजदरबाट क्रमशः वृद्धि सुरु गरेको थियो। तर विश्वव्यापी आर्थिक अनिश्चितता र अमेरिकी ट्यारिफसम्बन्धी चिन्ताका कारण सन् २०२५ को सुरुवातमा दर स्थिर राखिएको थियो। पछिल्लो वृद्धिअघि जनवरीमा गरिएको बढोत्तरीपछि यो १७ वर्षयताकै उच्च स्तरमा पुगेको थियो।

नोभेम्बरको मुद्रास्फीति विवरण अनुसार चामलको मूल्य वार्षिक आधारमा ३७ प्रतिशतले बढेको छ। आन्तरिक मामिला मन्त्रालयका अनुसार सन् २०२३ को अत्यधिक गर्मीका कारण आपूर्ति समस्यासँगै गत वर्ष आएको ‘मेगाक्वेक’ चेतावनीपछि भएको आतंकित खरिदले चामलको मूल्य तीव्र रूपमा बढाएको हो।

तेस्रो त्रैमासिकमा जापानको अर्थतन्त्र ०.६ प्रतिशतले सङ्कुचित भए पनि बीओजेका गभर्नर काजुओ उएदाले अमेरिकी ट्यारिफको प्रभाव अपेक्षाभन्दा कम रहेको बताएका छन्। उनले हालसम्म अमेरिकी कम्पनीहरूले ट्यारिफको भार उपभोक्तामाथि पूर्ण रूपमा सार्न नपरेको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार