टोकियो,जापान। जापानमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी संख्या पहिलो पटक ७० लाख नाघेर हालसम्मकै उच्च स्तरमा पुगेको छ। तर, कानुनले तोकेको अपाङ्गता रोजगारी दर पूरा गर्न सफल भएका निजी कम्पनीहरूको अनुपात भने अझै ४६ प्रतिशतमै सीमित रहेको छ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, ४० जना वा सोभन्दा बढी कर्मचारी भएका निजी कम्पनीहरूलाई न्यूनतम २ दशमलव ५ प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिनु कानुनी रूपमा अनिवार्य गरिएको छ। यस नियमअन्तर्गत पर्ने देशभरका करिब १ लाख २० हजार कम्पनीहरूको अवस्थाको अध्ययन गरिएको थियो।

त्यस अनुसार, यस वर्ष जुन १ सम्म निजी कम्पनीहरूमा कार्यरत अपाङ्गता भएका व्यक्तिहरूको संख्या ७ लाख ४ हजार ६ सय १० पुगेको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २७ हजार ले बढी हो। यससँगै अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी संख्या लगातार २२ वर्षदेखि बढ्दै आएको छ।

तर, कानुनी रूपमा तोकिएको अपाङ्गता रोजगारी दर पूरा गर्न सफल कम्पनीहरूको संख्या भने करिब ५५ हजार मात्र रहेको छ, जुन कुलको ४६ प्रतिशत हो। साथै, अपाङ्गता भएका एक जना पनि कर्मचारी नराखेका कम्पनीहरूको संख्या करिब ३७ हजार रहेको छ। तीमध्ये करिब ९० प्रतिशत कम्पनीहरूमा कर्मचारी संख्या ४० देखि १०० जनाभन्दा कम रहेको देखिएको छ।

यसैबीच, निजी क्षेत्रका लागि तोकिएको अपाङ्गता रोजगारी दर आगामी वर्ष जुलाई देखि बढाएर २ दशमलव ७ प्रतिशत पुर्‍याइने तयारी गरिएको छ। मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी क्रमशः बढ्दै गएको भए पनि अझै आधाभन्दा बढी कम्पनीहरूले कानुनी लक्ष्य पूरा गर्न नसकेको उल्लेख गर्दै, हेलो–वर्क (रोजगारी सेवा केन्द्र) मार्फत थप सहयोग र समर्थन गर्ने जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार