टोकियो,जापान। जापानको प्रमुख कन्भिनियन्स स्टोर चेन लसनले सन् २०२६ देखि फार्मासिस्ट वा दर्ता विक्रेता स्टोरमै उपस्थित नभएको अवस्थामा पनि ओभर–द–काउन्टर (OTC) औषधि डेलिभरी सेवा सुरु गर्ने योजना बनाएको छ।

कम्पनीका अध्यक्ष सादानोबु ताकेमासुले हालैको एक अन्तर्वार्तामा ग्राहकले रुघाखोकीजस्ता सामान्य औषधि अनलाइनमार्फत अर्डर गरी घरमै डेलिभरी पाउन सक्ने सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। कन्भिनियन्स स्टोरमा औषधि बिक्रीसम्बन्धी नियमहरू खुकुलो बनाएपछि यो सेवा लागू गरिने बताइएको छ।

“हामी औषधि टाढाबाट बिक्री गरेर डेलिभरी गर्न चाहन्छौँ,” ताकेमासुले भने। सम्बन्धित निकायहरूसँगको परामर्शपछि यो सेवा “अर्को वर्ष वा त्यसपछि” सुरु हुने उनको भनाइ छ।

हाल करिब ३ सय २० वटा स्टोरमा मात्र औषधि बिक्री हुँदै आएकोमा, ड्रगस्टोरहरूसँगको बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै लसनले औषधि उपलब्ध गराउने स्टोरको संख्या बढाउने योजना बनाएको छ। यसबाट ग्राहकको सुविधा थप बढाउने कम्पनीको लक्ष्य छ।

यसैबीच, सन् २०३० को आर्थिक वर्षसम्म विदेशमा लसनका स्टोर संख्या करिब चौध हजार पुर्‍याउने योजनाबारे पनि ताकेमासुले धारणा राखेका छन्। तीमध्ये करिब बाह्र हजार स्टोर चीनमा हुने उनले स्पष्ट पारे। साथै, दक्षिण–पूर्वी एसियामा पनि स्टोर सञ्जाल विस्तार गर्ने इच्छा व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार