टोकियो,जापान। टोकियोको तोयोसु बजारमा जनवरी ५ को बिहान नयाँ वर्षको परम्परागत हाचु–सेरी (पहिलो लिलामी) सम्पन्न भएको छ। यस क्रममा आओमोरी प्रिफेक्चरको ओमा सहरबाट पानीजहाजले उतारेको ब्लूफिन टुना माछा ५१ करोड ३ लाख येनमा बिक्री भएको छ। यो मूल्य सन् १९९९ यता अभिलेखमा रहेकोमध्ये सबैभन्दा उच्च हो।

टोकियोको कोतो वार्डस्थित तोयोसु बजारमा बिहानैदेखि जापानभरि तथा विश्वका विभिन्न बन्दरगाहबाट ल्याइएका ताजा र फ्रोजन टुनाहरू लिलामीका लागि राखिएका थिए। सुरुवातमा थोक व्यापारी संघका प्रतिनिधिले “टोकियो, जापान र विश्वसम्म टुनाको शक्ति देखाउँदै मत्स्य उद्योगलाई थप उचाइमा पुर्‍याऔँ” भन्दै शुभकामना व्यक्त गरे।

बिहान ५ बजेपछि घण्टीको संकेतसँगै लिलामी सुरु हुँदा, लिलामीकर्ताहरूको जोशिलो आवाजसँगै ठूला–ठूला टुनाहरू क्रमशः बिक्री हुँदै गए। यस वर्षको सबैभन्दा महँगो टुना भने ओमाबाट आएको २४३ किलोग्राम तौलको ब्लु टुना रह्यो, जसको मूल्य ५१ करोड ३ लाख येन पुगेको छ। यो रकम सन् २०१९ मा बनेको ३३ करोड ३६ लाख येनको अघिल्लो कीर्तिमानभन्दा उल्लेख्य रूपमा बढी हो।

उक्त टुना टोकियोको सुकिजीमा मुख्यालय रहेको सुशी चेन सुसि जान्माइले किनेको हो। लिलामीपछि कम्पनीका अध्यक्ष किमुरा कियोशीले “टुना देखेपछि किन्न मन लागिहाल्यो। रकम अलि चकित पार्ने खालको भए पनि, यो टुना धेरैभन्दा धेरै मानिसले खाएर उत्साह र ऊर्जा पाऊन् भन्ने चाहना हो,” भन्दै प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार