प्रिय जापानबासी नेपाली दाजुभाइ
तथा दिदीबहिनीहरू,

हेर्नुस न ! आज जापानमा वैदेशिक रोजगारीको सिलसिलामा बसोबास गर्न थालेको पनि झण्डै एक दशक पूरा भैसकेछ । मेरो जापान यात्रा यामानासी केनबाट सुरु भई आज निरन्तर टोकियोमा जारी छ । यो यात्रामा धेरै मानिसहरू भेटिए, धेरैसँग ठोक्किनुपर्‍यो, धेरै आए गए, र थोरै मात्र साथमा रहे । जीवनका यी वर्षहरूमा दुःख सुख, हाँसो, आँसु, आशा निराशा सबै भोगियो ।

जापानी भूमिमा जीवन यात्रा अगाडि बढाउदै गर्दा आज म एउटा गम्भीर आत्ममन्थन गर्न चाहन्छु ।

के आजसम्म मेरो कारणले तपाईंहरूमध्ये कसैको इज्जतमा आँच पुगेको छ ?के मेरो कारणले कसैले शिर झुकाउनुपरेको छ ?के मेरो कारणले कसैलाई कानुनी झन्झट, अपमान वा हेपाइ सहनुपरेको छ ?

यदि छ भने, खुलेर भन्नुहोस् म सुधारिन तयार छु।
तर यदि छैन भने, तपाईं केवल नेपाली भएकै कारण मैले हामीले पटक/पटक किन शिर झुकाउनुपरेको छ ?किन तपाईंहरूमध्ये कोहि/केहीको गैरजिम्मेवार व्यवहारका कारण हामी सबैले बदनामीको बोझ बोक्नुपरेको छ ।

तपाइ हामी सबैलाई स्पष्ट छ थाहा छ । यो देश हाम्रो होइन । यहाँ हाम्रो शासन चल्दैन, हाम्रो नियम लाग्दैन । यति थाहा हुदा हुदै किन तपाइ आफ्नो परिवारको अनि देशको इज्जत एक पटक पनि सम्झिनु हुन्न ?
त्यसैले सडकमा शासकझैँ हिँड्ने, होहल्ला गर्ने, झगडा मच्चाउने अनि बदनाम गर्ने अधिकार तपाइ हामीलाई छैन । एक दुई जनाको लापरबाहीले जापानभरिका सम्पूर्ण नेपालीको नाममा बदनामीको कालो दाग लगिरहेको छ त्यो गर्न तपाइ हामीलाइ छुट छैन ।

रक्सी खाने केवल हामी नेपाली मात्र होइनौँ अन्य देशका मानिसहरू पनि उस्तरी नै खान्छन । तर प्रश्न यो हो किन हामीले नै सडक तताउनुपर्ने ? किन हामीले नै सडकमा ताण्डव देखाउनु पर्ने ? किन शान्त समाजलाई अशान्त बनाउनु पर्ने ? किन हामी नै जापानी नागरिकका आखाको तारो हुनु पर्ने ?

अब म ती नेपाली साथीहरूलाई पनि गम्भीर आग्रह गर्न चाहन्छु,जो हातमा क्यामेरा बोकेर जे देख्यो त्यही खिच्न आतुर हुन्छन । दुई नेपाली झगडा गर्दा, अर्को नेपालीले नै भिडियो खिच्छ र हतार हतार सामाजिक सञ्जालमा पोस्ट गर्छ ।

के क्यामेरामा कैद भएको हरेक दृश्य सामाजिक सञ्जालमा हाल्नैपर्ने हुन्छ ? भिडियो पोस्ट गर्नु अघि
“यसले कसको जीवन कति असर पर्छ या बिगार्छ ? यसले नेपाली समाजलाई के सन्देश दिन्छ ? भन्ने कुरा सोच्नु पर्दैन ? म त भन्छु सामाजिक सन्जालमा पोस्ट गर्नु अघि कम्तीमा तीनपटक सोच्नु पर्छ सोचौ ।

प्रीय पत्रकार मित्रहरूलाई पनि मेरो विनम्र अनुरोध छ । तपाइले समाचार लेख्दै गर्दा वा पोस्ट गर्दै गर्दा देश र जनतालाई बदनाम गर्ने होइन, नागरिकलाइ सचेत बनाउने पत्रकारिता गर्नुस् ।
“त्यहाँ झगडा भयो, त्यसो नगर्नुस्” भन्ने शिक्षा दिनुस्,
तर नेपाल र नेपालीको इज्जतमा आँच आउने गरिको सनसनीपूर्ण भिडियो समाचार बनाएर अन्य नेपालीको अनि आफ्नै पनि बदनाम नगर्नुस । तपाईंहरूको कलम समाज सुधार्ने शक्तिशाली माध्यम हो । बदनामीको हतियार होइन । तपाइहरुकै कलमको मसिले समाजलाइ बदल्न बनाउन र बिगार्न सक्छ भन्ने कुरा तपाइले पत्रकारिता पढ्दा नै सिकिसकेको हुनु पर्छ ।

प्रीय जापानबासी नेपाली साथीहरु तपाईंहरूमध्ये कसैलाई पनि यो अधिकार छैन कि हामीले वर्षौँसम्म इमानदार, अनुशासित र बेदाग रूपमा जिएको जीवनमा बदनामीको दाग लगाइदिनुहोस् ।
तपाईंहरूको कारण हामीले शिर झुकाउनुपरेको छ भने त्यो हामीलाइ स्वीकार्य छैन ।
तपाईंहरूको कारण हामी हेपिएका छौँ भने त्यो सह्य छैन ।

अन्त्यमा यति मात्र भन्न चाहन्छु : चिहाएर हेर्ने हो भने, नसोचेका धेरै कुरा पनि देखिन्छन् देख्न सकिन्छ । अरूको कमजोरी खोज्दै भिडियो खिच्ने र सामाजिक सञ्जालमा छरपस्ट गर्ने संस्कार बन्द गरौँ गर्नुस …

आज जापानमा नेपाल र नेपाली बदनाम भएका अधिकांश भिडियो नेपालीले नै खिचेका छन्,
नेपालीले नै सामाजिक सन्जालमा पोस्ट गरेका छन् ! एक जनाले होइन, धेरैले …यसै कारण कतिले यहाँ आत्मसम्मान गुमाएका छन्, कतिले मानसिक पीडा भोगेका छन्, कतिले रोजगारी गुमाएका छन त कतिले आत्महत्यासम्मको बाटो पनि रोजेका छन ।

नशामा लडेर आत्मासमान गुमाएर आफ्नो मात्र होइन,
अरूको जीवन पनि अन्धकार नबनाऔँ ।

अब रोक्नुस यि सब लाज घिन अनि अपमान हुने कार्य गर्न । आफू पनि इज्जतका साथ बाच्नुस र अरूलाई पनि सम्मानका साथ बाँच्न दिनुस ।

जय देश
जय परदेश
प्रहार

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार