टोकियो। जापानमा मध्यमदेखि दीर्घकालीन रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूका लागि जापानी भाषा र सामाजिक नियम सिक्ने कार्यक्रम अनिवार्य बनाइनुपर्ने प्रस्ताव विज्ञ प्यानलले गरेको छ। बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा प्यानलले भाषा, संस्कृति तथा सामाजिक आचारसम्बन्धी ज्ञान बिना जापानी समाजमा घुलमिल हुन विदेशीहरूलाई कठिनाइ भइरहेको निष्कर्ष निकालेको छ।

प्यानलका अनुसार अमेरिका, युरोपलगायत केही देशहरूमा विदेशी बासिन्दाका लागि भाषा र सामाजिक संस्कार सिकाउने संरचित तथा अनिवार्य कार्यक्रमहरू छन्। तर जापानमा हालसम्म यस्ता कार्यक्रमहरू व्यवस्थित रूपमा उपलब्ध छैनन्। यही कमजोरीका कारण केही विदेशी नागरिकहरू सामाजिक नियम नबुझ्दा समस्याहरुमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा विदेशी नागरिकहरूलाई जापान प्रवेश गर्नु अघि वा जापान आइपुगेपछि तुरुन्तै भाषा तथा सामाजिक प्रणालीसम्बन्धी तालिम दिने व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ। यसले विदेशी र स्थानीय समुदायबीचको सहअस्तित्वलाई सहज बनाउने अपेक्षा गरिएको छ।

उक्त प्रतिवेदनका आधारमा सरकारले यसै महिनाभित्रै विदेशी बासिन्दा नीतिसम्बन्धी समग्र उपायहरू तयार गर्ने अपेक्षा गरिएको छ। प्यानलकी अध्यक्षले प्रतिवेदन विदेशी नीतिको जिम्मेवारी सम्हालेकी मन्त्री किमी ओनोदालाई बुझाएकी छन्।

‘विदेशी नागरिकहरूसँग सुव्यवस्थित र सद्भावपूर्ण सहअस्तित्व प्रवर्द्धन’ शीर्षकको उक्त विज्ञ प्यानल गत वर्षको अन्त्यतिर गठन गरिएको हो। प्यानलले नोभेम्बरयता दुई पटक बैठक गरी यस विषयमा छलफल गर्दै आएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार