प्रतीकात्मक तस्वीरःएआई

टोकियो,जापान। जापानमा विश्वविद्यालयमा भर्नाका लागि लिइने “विश्वविद्यालय प्रवेश साझा परीक्षा” (दाइगाकु न्युगाकु क्योचु टेस्ट) आज जनवरी १७ देखि सुरु हुँदैछ। यस वर्ष करिब ४९ हजार ६ सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका छन्।

यो परीक्षा जनवरी १७ र १८ गरी दुई दिन देशभरका ६ सय ५० स्थानमा सञ्चालन हुँदैछ। विश्वविद्यालय प्रवेश परीक्षा केन्द्रका अनुसार यो वर्ष केही नियमहरू परिवर्तन गरिएकाले परीक्षार्थीहरूले विशेष ध्यान दिनुपर्ने भएको छ।

यस वर्षदेखि परीक्षार्थीहरूले आफैँले प्रिन्ट गरेको प्रवेशपत्र (जुकेनह्यो) तथा विद्यार्थी परिचयपत्रजस्ता पहिचान खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। परीक्षा केन्द्रले यी कागजात नबिर्सन विशेष आग्रह गरेको छ।

यसअघि जनवरी १६ मा जेआर यामानोते लाइन र केहिन–तोहोकु लाइन लगायतका रेल सेवा अवरुद्ध हुँदा आवतजावतमा ठूलो असर परेको थियो। यस्तो अवस्थामा यदि यातायातमा ढिलाइ वा अवरोध आएमा परीक्षा सुरु हुने समय पछाडि सारिने व्यवस्था पनि गरिने विश्वविद्यालय प्रवेश परीक्षा केन्द्रले जनाएको छ। त्यस्तो समस्या परेमा प्रवेशपत्रमा उल्लेख गरिएको ‘सम्पर्क विश्वविद्यालय’ मा फोन गर्न आग्रह गरिएको छ।

आजको परीक्षामा बिहान ९ बजेर ३० मिनेटदेखि भूगोल–इतिहास र नागरिकशास्त्र (कोमिन) विषयको परीक्षा सुरु हुनेछ। त्यसपछि दिउँसो जापानी भाषा, विदेशी भाषा तथा अंग्रेजी लिसनिङ को परीक्षा सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार