टोकियो,जापान। मेहनत, धैर्य र निरन्तरताका साथ अघि बढेमा जापानमा पनि नेपाली युवाले उल्लेखनीय सफलता हासिल गर्न सक्छन् भन्ने कुरा स्याङ्जाका बालकृष्ण ढुंगानाको यात्राले प्रमाणित गरेको छ।

सन २००७ मा विद्यार्थीका रूपमा जापान आएका बालकृष्ण ढुंगानाले सुरुआतमा कन्भिनिएन्स स्टोरमा पार्ट–टाइम काम गर्दै आफ्नो संघर्षपूर्ण यात्रा सुरु गरेका थिए। सामान्य देखिने त्यो सुरुआत आज प्रेरणादायी सफलतामा रूपान्तरण भएको छ। हाल उनी जापानको सिजुओका प्रान्तमा ३ वटा फ्यामिलिमार्ट सञ्चालन गर्ने सफल व्यवसायी भइसकेका छन् र अब छिट्टै थप स्टोरहरू खोल्ने तयारीमा छन्।

विद्यार्थी भिसामा रहँदा सुरु भएको परिश्रम आज व्यवसायिक नेतृत्वमा बदलिएको छ। ढुंगानाले हाल प्रत्यक्ष रूपमा ६२ जना लाई रोजगारी दिएका छन्, जसमा अधिकांश जापानमै मेहनत गर्दै आएका नेपाली युवाहरू छन्। यसले जापानमा रहेका नेपालीहरू आफैं अवसर सिर्जना गर्न सक्ने अवस्थामा पनि पुग्न सक्छन् भन्ने सन्देश दिएको छ।

सिजुओकामा सञ्चालनमा रहेका उनका सबै स्टोरहरू नेपाली समुदायका लागि अवसरको केन्द्र बनेका छन्। जापानमा अनुशासन, इमानदारी र निरन्तरतासँग काम गर्न सकियो भने कामदारबाट व्यवसायी बन्ने यात्रा सम्भव छ भन्ने उदाहरण ढुंगानाले स्थापित गरेका छन्।

ढुंगानाको लक्ष्य जापानमा मात्रै सीमित छैन, उनी यसै वर्षभित्रमा आफ्नो व्यवसाय मलेसिया तथा भारतको नयाँ दिल्ली सम्म विस्तार गर्ने तयारीमा छन्। उनको सफलता यात्राले जापानमा रहेका नेपाली युवाहरूलाई आत्मविश्वासका साथ अघि बढ्न र आफ्नै भविष्य निर्माण गर्न प्रेरणा दिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार