टोकियो,जापान। जापानको राष्ट्रिय प्रहरी एजेन्सी (NPA) का अनुसार सन् २०२५ मा देशभरका ३३७ जना प्रहरी अधिकृत तथा कर्मचारीमाथि अनुशासनात्मक कारबाही गरिएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ९८ ले बढी हो र पछिल्लो १० वर्षयताकै सबैभन्दा उच्च रहेको बताइएको छ।

एजेन्सीका अनुसार कारबाहीमा परेकामध्ये ६४ जनालाई पक्राउसमेत गरिएको थियो। चर्चित घटनामध्ये कानागावा प्रिफेक्चरको कावासाकी सहरकी एक महिलाको हत्या प्रकरण पनि समावेश छ। ती महिलाले आफूलाई पछ्याउने (स्टकिङ) व्यक्तिबारे प्रहरीमा ९ पटक उजुरी दिएकी थिइन्, तर अन्ततः उनकै हत्या भएपछि उक्त घटनामा लापरवाही भएको ठहर गर्दै कानागावा प्रिफेक्चरल प्रहरीका ५ जना अधिकारीमाथि अनुशासनात्मक कारबाही गरिएको थियो।

कारबाहीका प्रमुख कारणमध्ये “विपरीत लिङ्गीसँग अनुचित सम्बन्ध” शीर्ष स्थानमा रहेको छ, जसअन्तर्गत यौन दुर्व्यवहार, लुकीछिपी भिडियो/तस्बिर खिच्ने (भोयुरिज्म) तथा अनुपयुक्त सम्बन्धजस्ता विषय पर्छन्। यससम्बन्धी मुद्दामा १०४ जना कर्मचारी कारबाहीमा परेका छन्। त्यसपछि “चोरी, ठगी र हिनामिना” सम्बन्धी कसुरमा ६३ जना तथा “कर्तव्यपालनमा लापरवाही र बेवास्ता” सम्बन्धी कसुरमा ४४ जनामाथि कारबाही गरिएको छ।

अनुशासनात्मक कारबाहीअन्तर्गत सेवाबाट बर्खास्त, निलम्बन, तलब कटौती तथा चेतावनीजस्ता सजाय समावेश गरिएको राष्ट्रिय प्रहरी एजेन्सीले जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार