टोकियो,जापान। जापानमा पक्राउ परेका विदेशी नागरिकको संख्या पछिल्ला ५ वर्ष (२०२१–२०२५) को अवधिमा २० वर्षअघिको उच्च विन्दुसँग तुलना गर्दा करिब ४० प्रतिशतले घटेको तथ्य सार्वजनिक भएको छ। प्रहरी तथ्यांकको विश्लेषणअनुसार विदेशी बासिन्दाको संख्या झण्डै दोब्बर बढे पनि अपराधमा संलग्नताको अनुपात भने घटेको देखिएको छ।

राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार सन् २०२१ देखि २०२५ सम्म कुल ५६ हजार ७०६ विदेशी नागरिकलाई प्रहरीले कारबाही प्रक्रियामा ल्याएको छ। यो संख्या सन् २००१ देखि २००५ को अवधिमा दर्ता भएको ९३ हजार ८९९ को तुलनामा उल्लेखनीय रूपमा कम हो। जापानका ४७ मध्ये १४ प्रान्तमा पक्राउ संख्या आधाले घटेको देखिएको छ।

सामाजिक सञ्जालमा विदेशी जनसंख्या बढ्दा सार्वजनिक सुरक्षामा गिरावट आएको दाबी भइरहेका बेला आधिकारिक तथ्यांकले भने त्यसको पुष्टि गर्दैन। पछिल्ला दुई दशकमा जापानमा विदेशी बासिन्दाको संख्या २० लाख १ हजारबाट बढेर ३९ लाख ५० हजार पुगेको छ। तर सोही अवधिमा अपराधमा संलग्न हुने विदेशीहरूको अनुपात घटेको विश्लेषणले देखाएको छ।

स्थायी बासिन्दा र अमेरिकी सैन्यकर्मीबाहेकका विदेशी नागरिकसम्बन्धी कारबाहीका घटनाहरू ४० वटा प्रान्तमा घटेको तथ्यांकले देखाएको छ। नागानो प्रान्तमा सबैभन्दा धेरै ७३.२ प्रतिशतले गिरावट आएको छ, जहाँ १ हजार ६७९ बाट घटेर ४५० मा झरेको छ। टोकियोमा मात्रै २२ हजार ३४४ घटनाले कमी आएको छ भने कानागावा र शिजुओकामा क्रमशः ३ हजार ३५८ र २ हजार २४१ ले घटेको छ।

राष्ट्रिय प्रहरी एजेन्सीका एक वरिष्ठ अधिकारीले “विदेशी नागरिकको आगमन बढे पनि सार्वजनिक सुरक्षामा स्पष्ट गिरावट आएको प्रमाण छैन, राष्ट्रियताको आधारमा नभई आवश्यक कारबाही निरन्तर जारी रहनेछ,” बताएका छन्।

एकल वर्षको तथ्यांकअनुसार सन् २०२५ मा देशव्यापी रूपमा पक्राउ संख्या अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढेर १२ हजार ७७७ पुगेको छ। यो लगातार तेस्रो वर्षको वृद्धि हो। यद्यपि, कोभिड–१९ महामारीको समयमा अपराध दर न्यून भएको अवस्थाबाट सामान्य अवस्थामा फर्किएको प्रभावका रूपमा यसलाई हेरिएको छ।

जापानी नागरिकसहितको समग्र तथ्यांक हेर्दा १९५० को दशकको सुरुआतमा दण्ड संहितासम्बन्धी अपराधमा वार्षिक पक्राउ संख्या ६ लाख नाघेको थियो। तर २००० को दशकको सुरुआतमा यो घटेर ३ लाखको हाराहारीमा पुगेको थियो। पछिल्ला वर्षहरूमा भने यो संख्या २ लाख वरिपरि स्थिर रहेको देखिन्छ। समुदायस्तरीय गस्ती, सुरक्षा क्यामेराको विस्तार तथा संगठित अपराधविरुद्ध कडाइले सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार