प्रतीकात्मक तस्वीरःएआई

टोकियो,जापान। जापानको मुख्य टापु होन्शुको दक्षिणी तट हुँदै अगाडि बढिरहेको न्यूनचापीय प्रणालीका कारण कान्तो–कोशिन क्षेत्रमा विशेषगरी पहाडी भूभागमा भारी हिमपातको पूर्वानुमान छ। जापान मौसम विज्ञान एजेन्सीले ३ तारिख दिउँसोदेखि ४ तारिख बिहानसम्म केही क्षेत्रमा भारी हिमपात हुने चेतावनी दिएको छ।

मौसम विभागका अनुसार कान्तो उत्तरी पहाडी क्षेत्रमा अधिकतम ४० सेण्टिमिटर, नागानो प्रान्तको पहाडी क्षेत्रमा ३० सेण्टिमिटर, हाकोनेदेखि टामा क्षेत्र र साइतामा प्रान्तको चिचिबु क्षेत्र हुँदै यामानाशीको पहाडी क्षेत्रमा १५ सेण्टिमिटरसम्म हिमपात हुनसक्ने अनुमान गरिएको छ। कान्तो उत्तरी समथर क्षेत्रमा ८ सेण्टिमिटर र दक्षिणी समथर क्षेत्रमा १ सेण्टिमिटरसम्म जम्न सक्ने प्रक्षेपण छ।

टोकियोको २३ वार्ड क्षेत्रमा ठूलो हिमपातको सम्भावना कम भए पनि तापक्रम अपेक्षाभन्दा घटे हल्का हिउँ जम्न सक्ने सम्भावना रहेको जनाइएको छ।

४ तारिख बिहानसम्म सडकमा हिउँ जम्ने (आइस बर्न) जोखिम बढ्ने भएकाले यातायातमा गम्भीर असर पर्न सक्छ। कृषि प्रयोजनका प्लास्टिक हाउस ढल्ने, बिजुली आपूर्तिमा अवरोध आउने तथा हिमपहिरोको जोखिमसमेत रहेको मौसम विभागले सचेत गराएको छ।

यसैबीच ४ तारिख समुद्री क्षेत्रमा अत्यन्त तीव्र हावा चल्ने र उच्च छालसहित आँधीबेहरीको अवस्था आउन सक्ने भएकाले समुद्री यातायातमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

तापक्रममा समेत उल्लेखनीय गिरावट आउनेछ। मितो र उत्सुनोमिया क्षेत्रमा अधिकतम ८ डिग्री सेल्सियस तथा टोकियोको केन्द्रीय क्षेत्रमा ९ डिग्री सेल्सियससम्म मात्र पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा करिब ५ डिग्री कम हो। पूर्वी जापानका केही स्थानमा कडा जाडो महसुस हुने भएकाले स्वास्थ्यमा ध्यान दिनसमेत आग्रह गरिएको छ।

उक्त न्यूनचापीय प्रणाली तीव्र गतिमा विकास हुँदै जापानको पूर्वी समुद्रतर्फ सर्ने अनुमान गरिएको छ। यसको प्रभावले तोहोकु क्षेत्रको प्रशान्त तटीय भागमा पनि ३ तारिख रातिदेखि ५ तारिखसम्म भारी हिमपात हुनसक्ने चेतावनी दिइएको छ। त्यहाँ २४ घण्टामा अधिकतम ४० सेण्टिमिटरदेखि ५० सेण्टिमिटरसम्म हिमपात हुनसक्ने अनुमान गरिएको छ।

मौसम विभागले हिमपात, हिउँसहितको हुरी, छानाबाट खस्ने हिउँ तथा उच्च समुद्री छालप्रति उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार