प्रतीकात्मक तस्वीरःएआई

टोकियो,जापान। जापानका ३० वर्षमुनिका अविवाहित युवामध्ये ६० प्रतिशतभन्दा बढीले सन्तान जन्माउने इच्छा नरहेको बताएका छन्। आर्थिक बोझ र करियरमा अवरोध हुने चिन्ताका कारण उनीहरूले यस्तो धारणा व्यक्त गरेको हालै सार्वजनिक गरिएको सर्वेक्षणले देखाएको हो।

जापानी औषधि कम्पनी रोतो फार्मास्युटिकलले १८ देखि २९ वर्ष उमेर समूहका ४ सय अविवाहित पुरुष र महिलामाझ गत डिसेम्बरमा अनलाइन सर्वेक्षण गरेको थियो। गर्भधारण र परिवार योजना सम्बन्धी वार्षिक अध्ययनअन्तर्गत गरिएको उक्त सर्वेक्षणमा सन्तान नचाहनेहरूको संख्या २०२५ मा बढेर ६२.६ प्रतिशत पुगेको छ। यो दर २०२० को तुलनामा १८ प्रतिशत बिन्दुले बढी हो।

सर्वेक्षणमा पहिलो पटक महिलाहरूमा सन्तान नचाहने प्रतिशत पुरुषभन्दा बढी देखिएको छ। करिब ६५ प्रतिशत महिलाले आफूलाई सन्तान जन्माउने इच्छा नरहेको बताएका छन् भने पुरुषमा यो दर ६०.७ प्रतिशत रहेको छ।

सन्तान जन्माउँदा आर्थिक भार बढ्ने चिन्ता ७० प्रतिशतभन्दा बढी महिलाले व्यक्त गरेका छन्, जबकि पुरुषमा यस्तो चिन्ता ६३.२ प्रतिशत रहेको छ। त्यस्तै, ६१.४ प्रतिशत महिलाले सन्तान जन्माउँदा आफ्नो करियरमा अवरोध आउने बताएका छन् भने पुरुषमा यस्तो सोच ५१.२ प्रतिशत रहेको छ।

सन्तान जन्माउने इच्छा राख्ने अविवाहित युवाहरूबीच पनि पहिलो सन्तान पाउने उमेर बढ्दै गएको देखिएको छ। सन् २०१८ मा गरिएको सर्वेक्षणमा करिब ४० प्रतिशतले ३० वर्षभित्र सन्तान चाहने बताएका थिए। तर २०२५ मा यस्तो चाहना राख्नेको संख्या घटेर ४ जनामध्ये १ जना मात्रमा सीमित भएको छ।

रोतो फार्मास्युटिकलले सन् २०१८ देखि गर्भ परीक्षण किट, ओभुलेसन परीक्षण उपकरण तथा प्रजननसम्बन्धी सप्लिमेन्टसँग सम्बन्धित अध्ययनका लागि यो सर्वेक्षण गर्दै आएको छ।

नयाँ प्रतिवेदनमा कम्पनीले २५ देखि ४४ वर्ष उमेर समूहका ८ सय विवाहित व्यक्तिहरूमाझ पनि अध्ययन गरेको थियो। त्यसमध्ये ६० प्रतिशतभन्दा बढी महिलाले र करिब आधा पुरुषले सन्तान जन्माउँदा करियरमा असर पर्ने बताएका छन्। साथै, धेरैले सन्तान जन्माउने भएमा जागिर परिवर्तन गर्ने वा नयाँ पद खोज्नेबारे सोच्ने बताएका छन्।

यस अध्ययनले जापानमा तीव्र रूपमा घटिरहेको जन्मदरको अवस्थालाई पनि झल्काउँछ। स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार सन् २०२५ मा जन्मिने शिशुको संख्या घटेर ७ लाख ५ हजार ८०९ मा झरेको छ, जुन जापानले २०४० तिर मात्र पुग्ने अनुमान गरिएको स्तरभन्दा पनि चाँडो हो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार