जापान,टोकियो। एनपिओ गल्कोट समाज जापानको सहयोगमा गल्कोट नगरपालिका र तारा गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा “छात्रवृत्ति अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम” सम्पन्न भएको छ।

“समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने उद्देश्यसहित गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको सांगीतिक श्रृङ्खला सन् २०२५–२०२६ को कार्यक्रम अन्तर्गत गल्कोट नगरपालिका र तारा गाउँपालिकाका १९ विद्यालयमा ५/५ लाख रुपैयाँको अक्षयकोष स्थापना तथा हस्तान्तरण गरिएको हो।

पहिलो चरणमा गत वर्ष गल्कोट नगरपालिकाका वार्ड नं १ श्री सरस्वती माध्यमिक विद्यालय, वार्ड नं २ श्री महेन्द्र माध्यमिक विद्यालय, वार्ड नं ४ श्री खरुवा माध्यमिक विद्यालय, वार्ड नं ५ श्री पृथ्वी माध्यमिक विद्यालय, वार्ड नं ६ श्री पार्वती माध्यमिक विद्यालय, वार्ड नं ७ श्री जनहित माध्यमिक विद्यालय, वार्ड नं ८ श्री जनजागृती माध्यमिक विद्यालय, वार्ड नं ९ श्री भैरव माध्यमिक विद्यालय, वार्ड नं १० श्री पाण्डवखानी माध्यमिक विद्यालय तथा वार्ड नं ११ श्री रत्नलक्ष्मी माध्यमिक विद्यालय मा अक्षयकोष स्थापना गरिएको थियो। साथै तारा गाउँपालिकाको श्री नेपाल माध्यमिक विद्यालय मा पनि अक्षयकोष स्थापना गरिएको थियो।

दोस्रो चरण अन्तर्गत गत वर्ष बाँकी रहेका गल्कोट नगरपालिका वार्ड नं १ श्री चौराहा माध्यमिक विद्यालय, वार्ड नं ३ गल्कोट माध्यमिक विद्यालय, वार्ड नं ८ शिव माध्यमिक विद्यालय तथा तारा गाउँपालिकाका वार्ड नं १ प्रजातन्त्र माध्यमिक विद्यालय, जनप्रेम माध्यमिक विद्यालय, वार्ड नं २ अर्गल माध्यमिक विद्यालय, वार्ड नं ३ हरि माध्यमिक विद्यालय र वार्ड नं ५ दुर्गा भवानी माध्यमिक विद्यालय मा पनि ५/५ लाख रुपैयाँको अक्षयकोष स्थापना कार्य सम्पन्न गरिएको छ।

गल्कोट समाज जापानका अनुसार यो अक्षयकोषले भविष्यमा गल्कोट नगरपालिका र तारा गाउँपालिकाका आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यस महत्वपूर्ण कार्यलाई सफल बनाउन आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता तथा कार्यक्रमको व्यवस्थापनमा सहजीकरण गरिदिने गल्कोट नगरपालिका, तारा गाउँपालिका, सम्बन्धित विद्यालय परिवार, विभिन्न संघ–संस्था, समाजसेवी, पत्रकार मित्रहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै महानुभावप्रति एनपिओ गल्कोट समाज जापान परिवारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रममा गल्कोट समाज जापानका तर्फबाट अध्यक्ष रत्नसिंह बस्नेत, महासचिव दिलीप कँडेल लगायतको उपस्थिति रहेको थियो। विद्यालयका तर्फबाट प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार