टोकियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले “साकुराको फेदमुनी २०२६” कार्यक्रमसँगै आफ्नो ८२ औँ नियमित साहित्य श्रृंखला आयोजना गर्ने भएको छ। साकुरा फुल्ने मौसमलाई लक्षित गर्दै हरेक वर्ष झैँ यस वर्ष पनि साहित्यिक वातावरणमा स्रष्टा र साहित्यप्रेमीहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यका साथ कार्यक्रम तय गरिएको हो।

अनेसास जापानका अनुसार उक्त कार्यक्रम आगामी ५ अप्रिल २०२६ (आइतबार) दिउँसो १२:३० बजे चिबा प्रिफेक्चरको इचिकावा स्थित साकुरा चुओ पार्क मा आयोजना गरिनेछ। कार्यक्रममा साहित्यकार, सर्जक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

अनेसास जापानले जापानमा साकुरा फुल्ने मौसममा हरेक वर्ष नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। साकुराको फेदमा बसेर कविता, कथा, गजललगायत साहित्यिक सिर्जनाहरू वाचन गर्ने, सुन्ने र साहित्यिक छलफल गर्ने परम्परा यस कार्यक्रमको मुख्य विशेषता हो। साथै, कार्यक्रममार्फत सहभागीहरूबीच आपसी चिनजान, जमघट तथा खानपानको पनि व्यवस्था गरिँदै आएको छ।

अनेसासले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले जापानमा रहेका नेपाली समुदायलाई सक्रिय रूपमा जोड्दै आएको छ। यसपटकको कार्यक्रम पनि सोही निरन्तरताको एक महत्वपूर्ण कडीका रूपमा रहेको अनेसास जापानले जनाएको छ।

अनेसास जापानले जापानभर रहेका नेपाली साहित्यप्रेमी तथा समुदायका सबैलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार