टोकियो,जापान। जापानमा एडीएचडी (ध्यान अभाव तथा अतिसक्रियता विकार) उपचारमा प्रयोग हुने प्रमुख औषधि ‘कोन्सर्टा’ को अभाव भएपछि नयाँ बिरामीलाई औषधि सिफारिस गर्न चिकित्सकहरू बाध्य भएर रोक लगाइरहेका छन्। यसले धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका छन्।

विशेषज्ञहरूका अनुसार यो समस्या मुख्यतः माग र आपूर्तिबीचको असन्तुलनका कारण उत्पन्न भएको हो। ‘कोन्सर्टा’ (मिथाइलफेनिडेट हाइड्रोक्लोराइड) मस्तिष्कमा डोपामिन सक्रियता बढाएर ध्यान केन्द्रित गर्न र आवेग नियन्त्रण गर्न मद्दत गर्ने औषधि हो। यो सन् २००७ देखि बालबालिकाका लागि र सन् २०११ देखि वयस्कका लागि जापानमा प्रयोग हुँदै आएको छ। हाल वयस्क एडीएचडीका लागि स्वीकृत एकमात्र केन्द्रीय स्नायु प्रणाली उत्तेजक औषधि यही हो, जसको कुनै जेनेरिक विकल्प उपलब्ध छैन।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार यो औषधि कडा नियन्त्रणमा राखिएको साइकोट्रोपिक पदार्थ हो, जसको दुरुपयोग र निर्भरता जोखिमका कारण विशेष वितरण व्यवस्थापन प्रणालीमार्फत चिकित्सक, फार्मेसी र बिरामीको विवरण निगरानी गरिन्छ।

तर, निर्माता कम्पनी जान्सेन फार्मास्युटिकलले सन् २०२५ सेप्टेम्बरदेखि आपूर्ति सीमित गर्ने घोषणा गरेपछि समस्या झन् गम्भीर बनेको हो। सुरुमा दुई महिनाभित्र सुधार हुने बताइएको भए पनि सन् २०२६ जनवरीसम्म आइपुग्दा “धेरै महिना लाग्न सक्छ” भन्ने अनुमान गरिएको छ। हालसम्म नयाँ बिरामीलाई औषधि सुरु नगर्न र पुराना बिरामीको मात्रा परिवर्तन नगर्न सिफारिस गरिएको छ।

फार्मेसीहरूमा औषधि “स्टक सकिएको” अवस्था देखिन थालेको छ। कानागावा प्रिफेक्चरका २० वर्षे एक युवकले औषधि नपाउँदा दैनिक जीवनमा गल्तीहरू बढ्न थालेको बताएका छन्—जस्तै गलत व्यक्तिलाई इमेल पठाउने, जुन औषधि खाँदा हुँदैनथ्यो।

विशेषज्ञ हरुहिसा ओटा का अनुसार वयस्क एडीएचडीबारे बढ्दो जनचेतना यस संकटको प्रमुख कारण हो। पहिले कार्यस्थलमा हुने गल्तीहरूलाई “आलस्य” वा “व्यक्तिगत समस्या” भनेर लिने गरिन्थ्यो, तर अहिले धेरै मानिसले आफूमा एडीएचडीको शंका गरेर उपचार खोज्न थालेका छन्। एक अध्ययन अनुसार सन् २०१९ मा २० वर्षभन्दा माथिका नयाँ एडीएचडी बिरामीको संख्या सन् २०१० को तुलनामा २१ दशमलव १ गुणा बढेको देखिएको छ।

अर्कोतर्फ, सन् २०२४ मा अर्को एडीएचडी औषधिमा क्यान्सरजन्य अशुद्धता भेटिएपछि त्यसको उत्पादन रोकिएको थियो। त्यसपछि धेरै बिरामी ‘कोन्सर्टा’ मा सरे, जसले माग अझै बढायो।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार जान्सेन एक अन्तर्राष्ट्रिय कम्पनी भएकाले उत्पादन विश्वस्तरमा निर्धारण हुन्छ, जसका कारण जापानको मात्र आवश्यकताअनुसार आपूर्ति बढाउन कठिन भइरहेको छ। कम्पनीले पनि हाल “कहिले आपूर्ति सामान्य हुन्छ भन्ने निश्चित छैन” भन्दै बिरामीलाई वैकल्पिक उपचारका लागि चिकित्सकसँग परामर्श गर्न आग्रह गरेको छ।

विशेषज्ञ ओटा भन्छन्, “यो समस्या पहिले नै धेरै मानिसमा असर गरिसकेको छ, त्यसैले सरकार र औषधि कम्पनीले छिटो समाधान निकाल्न आवश्यक छ।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार