टोकियो, जापान । जापानमा अप्रिल महिनादेखि कुल २ हजार ७९८ खाद्य वस्तुको मूल्य वृद्धि हुने भएको छ। निजी अनुसन्धान संस्था तेइकोकु डाटा बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, २ हजारभन्दा बढी वस्तुमा मूल्य वृद्धि भएको यो संख्या गत वर्ष अक्टोबरपछि पहिलो पटक हो।

उक्त अध्ययन जापानका प्रमुख १९५ खाद्य उत्पादक कम्पनीहरूलाई समेटेर गरिएको हो। जसअनुसार, सबैभन्दा धेरै मूल्य वृद्धि “मसला तथा सिजनिङ” समूहमा देखिएको छ, जहाँ १ हजार ५१४ वस्तु महँगिएका छन्। त्यसपछि “प्रोसेस्ड फुड” अन्तर्गत ६०९ वस्तु (जस्तै: इन्स्ट्यान्ट नुडल्स, कप सूप) र “मदिरा तथा पेय पदार्थ” अन्तर्गत ३६९ वस्तुको मूल्य बढाइएको छ।

सन् २०२६ को जनवरीदेखि जुलाईसम्म कुल ५ हजार ७२९ खाद्य वस्तुको मूल्य वृद्धि हुने योजना रहेको छ। यसको मुख्य कारण “कच्चा पदार्थको मूल्य वृद्धि” रहेको छ, जुन ९९.८ प्रतिशत केसमा देखिएको छ। त्यस्तै, ७२.९ प्रतिशतमा ढुवानी खर्च (लजिस्टिक्स) र ६८.८ प्रतिशतमा प्याकेजिङ सामग्री (ट्रे लगायत) को लागत वृद्धि पनि जिम्मेवार रहेको उल्लेख गरिएको छ।

यद्यपि, जुलाईसम्मको मूल्य वृद्धि संख्या गत वर्षको सोही अवधिको तुलनामा करिब ५० प्रतिशतले घटेको छ। हालसम्म इरान सम्बन्धी तनावको प्रत्यक्ष प्रभाव देखिएको छैन।

तर अनुसन्धान संस्थाका अनुसार, मध्यपूर्वको बढ्दो तनावका कारण आगामी दिनमा कच्चा पदार्थ, ढुवानी तथा प्याकेजिङ लागत अझ बढ्न सक्ने अनुमान गरिएको छ। यसले गर्दा सन् २०२६ को दोस्रो आधामा थप व्यापक रूपमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि हुने सम्भावना रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार