मसँग गर्वले देखाउन सकिने कुनै ठूलो उपलब्धि छैन। न त पदकहरू छन्, न त “सफलता” भनेर सजिलै नाम दिन मिल्ने कुनै पद। तर मसँग जीवन छ—थाकेको, अलमलिएको, तर इमानदार जीवन। बाल्यकालमा भविष्य खुला आकाश जस्तै लाग्थ्यो। जता मन लाग्यो उतै उड्न सकिन्छ भन्ने विश्वास थियो। रोल्पाको त्यो गाउँ, ढुङ्गाको पुरानो घर, बिहान–साँझ घरधन्दा र स्कुलसम्मको डेढ–दुई घण्टाको पैदल यात्रा—जीवन कठिन थियो, तर आशाविहीन थिएन। त्यतिबेला सपना साना थिए, तर चम्किला थिए। समयसँगै सपना ठूला भए।तर म सानो हुँदै गएँ।
प्लस–टु पढ्न दाङ झर्दा पहिलोपटक गाउँभन्दा बाहिरको संसार देखेँ। हो, त्यो भन्दा अगाडि पनि गाउँ छोडेको थिएँ, तर उद्देश्य फरक थियो। प्लस–टु सकिएपछि मनमा ठूलो अन्यौलता आयो—अब के गर्ने?त्यो बेला विदेशी जाने ब्याचलर नपढ्ने मनस्थितिमा थिए गाउँका दुई साथी र म विदेश जाने सोचमा काठमाडौं पुग्यौँ।
पासपोर्ट बनायौँ, मेनपावर कम्पनीका ढोका ढकढकायौँ। त्यहाँ मागभन्दा धेरै आवेदक थिए।इन्टरभ्यूका दिन बिहान ९ बजे लाइन लाग्दा दिउँसो ३–४ बजेतिर मात्रै पालो आउँथ्यो। रिजल्ट आयो।म एक्लै छनोट भएँ—कतारको एउटा कम्पनीका लागि।साथीहरूको नाम आएन। सायद त्यही एक्लोपनले हो, मलाई त्यो कम्पनीमा जान मन लागेन।
साथीहरू अर्को देश, अर्को कम्पनी खोज्ने कुरा गर्न थाले। तर मेरो मन अचानक फेरियो—“अब विदेश होइन, अझै पढ्छु।”म दाङ फर्किएँ। साथीहरू विदेश उडे।मैले ब्याचलर पढ्न सुरु गरेँ। त्यही बीचमा रेडियोमा काम गर्ने मौका आयो। कमाइ थिएन, तर आवाज थियो।समाज देख्ने, मानिस बुझ्ने एउटा अर्को पाठशाला जस्तै थियो रेडियो। त्यसपछि कामको खोजीमा भारत पनि पुगेँ। त्यहाँ श्रमको मूल्य, असुरक्षा र पराइपन कस्तो हुन्छ भन्ने अनुभव गरेँ। तर त्यो बाटो पनि स्थायी बनेन।
पढाइ चलिरह्यो। साथीहरू विदेशबाट फर्किए, फेरि अर्को देश उडे। उनीहरू भन्थे—“पढ्नुपर्छ यार, तिमी राम्रो गर्छौ।” मलाई कहिल्यै लागेन कि पढाइ गलत निर्णय हो।चार वर्ष त हो—सोच्थेँ—“यो सकिएपछि त म बैंकर हुन्छु।”पढाइ सकियो। रिजल्ट आउन केही समय लाग्यो।
अन्ततः ब्याचलर पास गरेको कागज हातमा आयो।
काम खोज्न थालेँ। कतै अनुभव खोजियो, कतै पहुँच।
काम कतै टुंगो लागेन। त्यसपछि अर्को सपना पलायो—लोकसेवा।“अब सरकारी जागिर खान्छु।” त्यही सोचले काठमाडौं छिरेँ। तीन महिना जति लोकसेवा पढेँ।तर काठमाडौं महँगो थियो। दाङमा महिनाको ५ हजारले गुजारा हुन्थ्यो, काठमाडौंमा १० हजार अनिवार्य खर्च लाग्थ्यो। त्यसैले फेरि निर्णय फेरियो। म दाङ फर्किएँ।
फेरि डिग्री पढ्न थालेँ। बिहान ५ बजेदेखि १० बजेसम्म कक्षा,बाँकी समय लोकसेवाका किताबहरू पल्टाउँथेँ।
पारिवारिक अवस्था कमजोर थियो। आमाबाबुले आफ्नै दुःख च्यापेर मेरो भविष्य बोके। डिग्री जोइन गरेपछि सोच बदलिन थाल्यो—“अब पढाइको खर्च आफैँले धान्नुपर्छ।”काम खोजेँ। तर पढाइसँग मिल्ने, चाहनासँग मेल खाने काम भेटिएन। त्यही असफलताले मलाई फेरि परदेशतिर धकेल्यो। नेपालमै केही गर्ने सपना थियो।
लोकसेवा आयोगको तयारी पनि गर्दै थिएँ। त्यो सपना मेरो मात्र थिएन—बाआमाको पनि थियो—“छोरोले यही देशमा केही गरोस्।” जापान जाने कागज प्रक्रिया चल्दै थियो।COE को पर्खाइमा थिएँ। त्यही बेला नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट जागिरको अफर आयो।सल्यानको सदरमुकाम खलङ्गा पुगेँ,काम सुरु गर्ने उद्देश्यले। लाग्यो सायद यही सही बाटो हो।
तर जीवनले फेरि प्रश्न तेर्स्यायो। ठीक त्यही बेला जापानको COE आयो। दुईवटा बाटो थिए- एउटा देशमै संघर्ष, अर्को परदेशको अनिश्चित यात्रा।मैले बैंक छोडेँ। मैले देश छोड्ने निर्णय गरेँ।
आज जापानमा छु। तर मन अझै नेपालमै अड्किएको छ। डिग्री अधुरो छोडेको पीडा छ। लोकसेवा छुटेको पछुतो छ। म परदेशमा श्रमिक जीवन बाँचिरहेको छु।बा–आमाको दुःख गाउँमा आज पनि उस्तै छ।
परिस्थिति बद्लिएको छैन—केवल पात्रहरू फेरिएका छन्।
युवावस्थामा मनभित्र आँधी थियो। केही गर्ने, केही बन्ने चाहना। तर म धेरै पटक चुपचाप सम्झौता गर्दै हिँडेँ।“अहिले होइन, पछि” भन्दै सपनाहरू पन्छाएँ।त्यो ‘पछि’ कहिल्यै आएन। आज उमेरसँगै इच्छाहरू पनि थाकेका छन्। जोखिम लिन डर लाग्छ। सपना देख्दा व्यवहारले रोक्छ। तर यो आत्मकथा केवल हारको कथा होइन।यो स्वीकारोक्तिको कथा हो। म सबै हुन सकिनँ।
सबै पाउन सकिनँ। तर मैले आफ्ना सीमाहरू चिनेँ।
आफूलाई बुझ्ने प्रयास गरेँ र जे जति बाँचेँ—इमानदारीसाथ बाँचेँ। यदि मेरा सपना उमेरसँगै मौन बने पनि,मेरो अनुभव, मेरो संघर्ष र मेरो कथा यी शब्दहरूमा बाँचिरहून्। सायद यही नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




