टोकियो, जापान। यही अप्रिल ११ र १२ तारिखमा टोकियोमा आयोजना गरिएको दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ भव्यताका साथ सम्पन्न भएको छ। दुई दिनसम्म चलेको यस फेस्टिवलले जापानी तथा नेपाली समुदायबीच सांस्कृतिक आदानप्रदानलाई अझ सुदृढ बनाएको आयोजकहरूले जनाएका छन्।

फेस्टिवलमा दाइतो विश्वविद्यालय, ईताबासी क्याम्पसको विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। साथै, नेपाली राजदूतावास जापान र ताकाशिमादाइरा प्रहरीका जानकारीमूलक स्टलहरूले दर्शकलाई उपयोगी सूचना प्रदान गरेका थिए।

कार्यक्रममा नेपाली १२ र जापानी ११ गरी कुल २३ वटा स्टलहरू राखिएका थिए, जसमा नेपाली खाना, संस्कृति र विविध सामग्रीहरू प्रदर्शन गरिएको थियो। दुई दिनसम्म चलेको कार्यक्रममा उल्लेख्य संख्यामा दर्शकहरूको सहभागिता देखिएको थियो।

फेस्टिवलको मुख्य आकर्षणका रूपमा म्याग्देली कलाकार रवि कार्की, गायक सूर्य खड्का लगायतका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो। साथै, जापानस्थित विभिन्न नेपाली संघसंस्थाहरूले पनि सांस्कृतिक तथा सांगीतिक प्रस्तुती प्रस्तुत गर्दै कार्यक्रमलाई थप रङ्गीन बनाएका थिए।

यस फेस्टिवलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै यहाँ बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्ने महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ रहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार