जापानमा बसोबास गर्ने हामी विदेशीहरूको हरेक व्यवहारले हाम्रो व्यक्तिगत छवि मात्रै होइन, सिंगो समुदायप्रतिको दृष्टिकोणमा पनि प्रभाव पार्छ। जापान आफैंमा नियम, अनुशासन, सरसफाइ र अरूलाई असुविधा नदिने संस्कारलाई निकै महत्व दिने देश हो। त्यसैले यहाँ बस्दा हाम्रो सानो असावधानीले पनि “विदेशीहरू यस्तै हुन्” भन्ने नकारात्मक सोच फैलिन सक्छ।

विदेशको जीवन बाहिरबाट हेर्दा जति सहज देखिन्छ, वास्तविकता त्यति सजिलो हुँदैन। विशेषगरी विद्यार्थी जीवन निकै दौडधुपपूर्ण हुन्छ। पढाइ, काम, पैसा, भाषा, भिसा र भविष्यको चिन्ताबीच धेरैजना तनावमा हुन्छन्। तर कठिनाइ छ भन्दैमा सार्वजनिक स्थानको नियम, मर्यादा र अरूको शान्ति भंग गर्ने व्यवहार गर्न मिल्दैन।

रेलको प्लेटफर्ममा बसेर चटपटे पार्टी गर्ने, कन्विनिएन्स स्टोरको अगाडि वा साइडमा रहेको सानो ठाउँमा अरूलाई असर पर्ने गरी खानपान गर्ने, ठूलो स्वरमा होहल्ला गर्ने, फोहोर छोड्ने, सार्वजनिक ठाउँलाई आफ्नै निजी ठाउँजस्तो प्रयोग गर्ने बानी गलत हो। यस्तो गतिविधि देख्ने जापानी नागरिक वा अन्य विदेशीहरूले त्यसलाई व्यक्तिगत घटना मात्र होइन, हाम्रो समुदायसँग जोडेर बुझ्न सक्छन्।

त्यस्तै, होस्टेल, सेयर हाउस वा सामूहिक बसोबासमा अर्काको सामान अनुमति बिना प्रयोग गर्नु, साझा ठाउँ सफा नगर्नु, राति अबेरसम्म ठूलो स्वरमा फोनमा बोल्नु, नियम पालना नगर्नु पनि गम्भीर समस्या हो। यस मध्ये कतिपय गतिविधिले नैतिकताको प्रश्न उठाउने मात्रै होईन कानुनी दण्ड/सजायको भागिदार समेत बनाउँन सक्दछ। अरूको सामान सानो कुरा लागे पनि अनुमति बिना प्रयोग गर्नु चोरीजस्तै गलत व्यवहार हो। जापानमा व्यक्तिगत सीमा, गोपनीयता र नियमलाई निकै गम्भीर रूपमा लिइन्छ।

जापानमा बस्दा हामीले के गर्ने भन्ने कुरा स्पष्ट छ। सार्वजनिक स्थानमा शान्त रहौँ, लाइनमा बसौँ, फोहोर सही ठाउँमा फालौँ, रेल वा बसमा ठूलो स्वरमा कुरा नगरौँ, अरूलाई बाटो नछेकौँ, कन्विनिएन्स स्टोर वा स्टेशन वरिपरि अनावश्यक जमघट नगरौँ। कोठा, होस्टेल वा सेयर हाउसमा बस्दा साझा नियम पालना गरौँ, अर्काको सामान प्रयोग गर्नुअघि अनुमति मागौँ, सरसफाइमा ध्यान दिऔँ र छिमेकीलाई असर नपर्ने गरी बसौँ।

हामी यहाँ केवल आफ्नो लागि आएका होइनौँ। हामीपछि आउने विद्यार्थी, कामदार, व्यवसायी र परिवारका लागि पनि बाटो सजिलो वा कठिन बनाउने जिम्मेवारी हाम्रो व्यवहारले बोकेको हुन्छ। एकजनाको गलत व्यवहारले धेरैजनालाई असर गर्न सक्छ। त्यसैले जापानमा बस्दा “म के गर्दैछु?” मात्र होइन, “मेरो व्यवहारले मेरो समुदायलाई कसरी देखाइरहेको छ?” भन्ने कुरा पनि सोच्न आवश्यक छ।

विदेशमा बस्नु भनेको पैसा कमाउनु, पढ्नु वा काम गर्नु मात्रै होइन। आफूलाई जिम्मेवार, अनुशासित र सभ्य रूपमा प्रस्तुत गर्नु पनि हो। जापानमा बस्ने हामी सबैले आफ्नो संस्कार, पहिचान र समुदायको इज्जत जोगाउने गरी व्यवहार गरौँ। गलत देखिएको कुरालाई सामान्य नठानौँ, सचेत बनौँ र अरूलाई पनि सम्झाऔँ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार