टोकियो,जापान । खाना धेरै बेर तताउने वा गलत तरिकाले प्रयोग गर्ने कारण इलेक्ट्रोनिक माइक्रोवेभबाट आगो र धुवाँ निस्कने दुर्घटना बढेपछि जापानको राष्ट्रिय उपभोक्ता मामिला केन्द्रले सावधानी अपनाउन आग्रह गरेको छ।

केन्द्रका अनुसार सन् २०२० अप्रिलदेखि गत वर्ष डिसेम्बरसम्म प्रयोग भइरहेका माइक्रोवेभबाट आगो वा धुवाँ निस्किएको भन्दै ५२१ वटा परामर्श तथा उजुरी प्राप्त भएका छन्।

विशेषगरी धेरै तताउँदा आगलागी हुने घटनामा सखरखण्ड सम्बन्धी उजुरी धेरै देखिएको छ। केन्द्रले गरेको पुनः परीक्षणमा १०० ग्राम सखरखण्डलाई ५०० वाटमा जस्ताको तस्तै तताउँदा ८ मिनेटमै माइक्रोवेभभित्र धुवाँ भरिएको र ११ मिनेटपछि आगो लागेको पाइएको छ।

त्यस्तै, फ्रोजन फुडको परीक्षणमा माइक्रोवेभमा पकाउन नमिल्ने भनेर उल्लेख गरिएको आल्मुनियमको प्याकेटसहित तताउँदा सुरु भएको केही समयमै प्याकेटको छेउबाट धुवाँ निस्केर आगो लागेको पाइएको छ।

यसका साथै माइक्रोवेभभित्र जमेको तेल वा फोहोरका कारण पनि आगलागीका घटना धेरै रिपोर्ट भएका छन्।

राष्ट्रिय उपभोक्ता मामिला केन्द्रले खाना अत्यधिक तताउनबाट बच्न, आल्मुनियम प्याकेज वा माइक्रोवेभमा प्रयोग गर्न नमिल्ने भाँडा तथा कन्टेनर प्रयोग नगर्न, र तताउनुअघि प्याकेज वा भाँडा माइक्रोवेभका लागि उपयुक्त छ कि छैन भनेर राम्रोसँग जाँच गर्न आग्रह गरेको छ। साथै, माइक्रोवेभको भित्री भाग नियमित रूपमा सफा राख्न पनि केन्द्रले अनुरोध गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार