जापान । जापानी अटो निर्मातानिसान मोटर कर्पोरेसनले आफ्नो पुनर्संरचना योजनाअन्तर्गत युरोपमा करिब १० प्रतिशत कर्मचारी कटौती गर्ने तयारी गरेको छ। यो विषय फाइनान्सियल टाइम्सले मंगलबार आफ्नो अनलाइन संस्करणमा सार्वजनिक गरेको हो।

हाल युरोपमा निसानका करिब ९ हजार ३ सय कर्मचारी कार्यरत छन्। उक्त प्रतिवेदनअनुसार कम्पनीले बेलायत, स्पेनलगायतका देशहरूमा मुख्यतः प्रशासनिक (क्लेरिकल) क्षेत्रमा करिब ९ सय कर्मचारी कटौती गर्ने योजना बनाएको छ।

निसानका एक जनसम्पर्क अधिकारीका अनुसार कम्पनीले विश्वव्यापी पुनर्संरचना योजनाको हिस्साका रूपमा युरोपमा कर्मचारीहरूसँग छलफल सुरु गरिसकेको छ। यसैक्रममा स्पेनको बार्सिलोनास्थित गोदाम आंशिक रूपमा बन्द गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

त्यसैगरी बेलायतको सन्डरल्यान्डस्थित निसान प्लान्टमा उत्पादन क्षमता प्रभावकारी बनाउन दुईवटा उत्पादन लाइनलाई एकीकृत गर्ने योजना पनि कम्पनीले अघि सारेको छ। अतिरिक्त उत्पादन क्षमताको उपयोगका लागि बाह्य कम्पनीहरूसँग सहकार्य गर्ने विकल्पसमेत विचाराधीन रहेको बताइएको छ।

कमजोर आर्थिक प्रदर्शनपछि सुधारका लागि निसानले विश्वभर करिब २० हजार रोजगारी कटौती गर्ने तथा विभिन्न प्लान्टहरू समायोजन गर्ने व्यापक योजना अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार