जापान । जापानले संयुक्त अरब इमिरेट्स (यूएई) सँग आफ्नो भूमिमा यूएई कम्पनीहरूले राख्ने संयुक्त कच्चा तेल भण्डार विस्तार गर्ने सहमति प्राप्त गरेको छ। जापानका अर्थ, व्यापार तथा उद्योग मन्त्री र्योसेई अकाजावाले यसबारे जानकारी दिएका हुन्।

अकाजावाले अबुधाबीमा यूएईका समकक्षी तथा जापानका विशेष दूत समेत रहेका सुल्तान अल जाबेरसँग भएको भेटमा यस्तो प्रस्ताव राखेका थिए। सो भेटमा दुवै पक्षले मध्यपूर्वको बिग्रँदो अवस्थाका कारण प्रमुख ऊर्जा मार्ग मानिने होर्मुज जलडमरूमध्य बन्द रहेको परिस्थितिलाई ध्यानमा राख्दै कच्चा तेल आपूर्तिको स्थायित्व सुनिश्चित गर्न सहयोग बढाउने सहमति जनाएका छन्।

पेरिसमा मध्यपूर्व भ्रमणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अकाजावाले भने, “हामी यूएईसँगको संयुक्त तेल भण्डारलाई उल्लेख्य रूपमा बढाउन चाहन्छौं।” उनका अनुसार यूएईले पहिले नै निकालिएको कच्चा तेल पुनः भण्डारण गर्ने र भविष्यमा यस्ता भण्डारलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

जापानको कुल कच्चा तेल आयातको करिब ४० प्रतिशत हिस्सा यूएईबाट आउने गर्दछ। ऊर्जा आपूर्तिमा उच्च निर्भरता रहेको जापानका लागि यो सहमति रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

यसैबीच, यूएईले गत शुक्रबार पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) बाट अलग हुने घोषणा गरेको छ। उसले अब आफ्नो उत्पादन क्षमतालाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्ने योजना बनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार