जापान । अमेरिकी बजारमा विद्युतीय सवारीसाधन (ईभी) को माग घट्दै गएपछि जापानी अटो निर्माता होन्डा मोटरले क्यानडामा निर्माण गर्ने योजना बनाएको ईभी उत्पादन प्लान्ट अनिश्चितकालका लागि स्थगित गर्ने तयारी गरेको छ।

 स्रोतहरूको जानकारीअनुसार कम्पनीले उत्तर अमेरिकी रणनीतिमा पुनरावलोकन गर्दै ईभीभन्दा हाइब्रिड सवारीसाधनमा ध्यान केन्द्रित गर्न थालेको हो।

होन्डाले क्यानडाको पूर्वी क्षेत्र ओन्टारियोमा सन् २०२८ देखि सञ्चालनमा ल्याउने गरी ईभी एसेम्बली प्लान्ट र ब्याट्री उत्पादन प्लान्ट निर्माण गर्ने योजना अघि बढाएको थियो। तर अमेरिकी बजारमा ईभीको माग कमजोर बन्दै गएपछि कम्पनीले गत वर्ष मे महिनामै उक्त परियोजना करिब दुई वर्ष पछिसम्म धकेल्ने घोषणा गरेको थियो।

करिब १५ अर्ब क्यानेडियन डलर लगानी अनुमान गरिएको परियोजनाका लागि जग्गा खरिदलगायत प्रारम्भिक तयारीसमेत पूरा भइसकेको थियो।

यसैबीच, अन्य जापानी अटो निर्माता निसान मोटरले पनि गत साता अमेरिकास्थित आफ्नो सवारी उत्पादन कारखानामा ईभी उत्पादन गर्ने योजना रद्द गरेको घोषणा गरेको थियो।

उद्योग स्रोतका अनुसार अमेरिकी सरकारले ईभीमा दिँदै आएको कर छुट सुविधा हटाएपछि अटो कम्पनीहरू आफ्नो रणनीति पुनः मूल्यांकन गर्न बाध्य भएका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार