जापान । जापानको फुकुसिमा प्रान्तअन्तर्गत कोरियामा सहरमा रहेको बन-एत्सु एक्सप्रेसवेमा भएको माइक्रोबस दुर्घटनामा १७ वर्षीय एक उच्च माध्यमिक विद्यालयका विद्यार्थीको मृत्यु भएको छ। उक्त दुर्घटना बुधबार बिहान करिब ७:४० बजे बान्डाइआतामी इन्टरचेन्ज नजिक एक्सप्रेसवेको इनबाउन्ड लेनमा भएको हो।

दुर्घटनामा निइगाता सहरका १७ वर्षीय हिरोतो इनागाकीको मृत्यु भएको जापानी प्रहरीलाई उद्धृत गर्दै जनाइएको छ। उनी माइक्रोबसमा सवार यात्रुहरूमध्ये एक थिए। प्रारम्भिक विवरणअनुसार माइक्रोबस सडकको हल्का दायाँ मोडमा रहेको गार्डरेलमा ठोक्किएपछि अनियन्त्रित भई दुर्घटना भएको थियो। ठक्करपछि इनागाकी सडकबाट बाहिरको लेनतर्फ उछिट्टिएर खसेका थिए र घटनास्थलमै अत्यधिक रगत बगेर उनको मृत्यु भएको पुष्टि गरिएको छ।

उक्त माइक्रोबसमा निइगाता सहरस्थित निजी विद्यालय होकुएत्सु हाईस्कुलको सफ्ट टेनिस क्लबका २० जना सदस्यहरू सवार थिए। माइक्रोबस ६८ वर्षीय चालकले चलाइरहेका थिए। दुर्घटनापछि सबै यात्रुहरूलाई अस्पताल लगिएको छ, तर उनीहरू मध्ये कोही पनि जीवन जोखिममा नरहेको जनाइएको छ।

माइक्रोबस दुर्घटनापछि सोही स्थानमा अर्को ट्रक पनि क्षतिग्रस्त गार्डरेलमा ठोक्किएको थियो। उक्त घटनामा ट्रकमा सवार दुई जना सामान्य घाइते भएका छन्। समग्रमा दुबै दुर्घटनामा गरी २० जना घाइते भएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार