टोकियो,जापान। जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या पहिलोपटक ४० लाख नाघेको छ। जापानको अध्यागमन सेवा निकायका अनुसार सन् २०२५ को अन्त्यसम्म जापानमा रहेका विदेशी बासिन्दाको संख्या ४१ लाख २५ हजार ३९५ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३ लाख ५६ हजार ४१८ जना अर्थात् ९.५ प्रतिशतले बढी हो। योसँगै जापानमा विदेशी बासिन्दाको संख्या लगातार चौथोपटक ऐतिहासिक उच्च बिन्दुमा पुगेको हो।

प्रान्तगत रूपमा हेर्दा टोकियोमा सबैभन्दा धेरै विदेशी नागरिक बसोबास गरिरहेका छन्। टोकियोमा विदेशी बासिन्दाको संख्या ८ लाख १ हजार ४३८ पुगेको छ, जुन देशभरको कुल विदेशी जनसंख्याको १९.४ प्रतिशत हो। त्यसपछि ओसाकामा ३ लाख ७५ हजार ३१९, आइचीमा ३ लाख ५७ हजार ८०० र कानागावामा ३ लाख १७ हजार ३५३ जना विदेशी बासिन्दा रहेका छन्।

भिसा तथा आवासीय हैसियतका आधारमा हेर्दा स्थायी बासिन्दा सबैभन्दा धेरै छन्। स्थायी बासिन्दाको संख्या ९ लाख ४७ हजार १२५ पुगेको छ। त्यसपछि “इन्जिनियर/मानविकी विशेषज्ञ/अन्तर्राष्ट्रिय सेवा” भिसामा ४ लाख ७५ हजार ७९० जना, विद्यार्थी भिसामा ४ लाख ६४ हजार ७८४ जना र प्राविधिक प्रशिक्षार्थीका रूपमा ४ लाख ५६ हजार ६१८ जना रहेका छन्।

श्रम अभाव पूर्ति गर्न सन् २०१९ मा सुरु गरिएको तोकुतेई गिनोउ अर्थात् निर्दिष्ट दक्ष कामदार कार्यक्रमअन्तर्गतका बासिन्दा भने उल्लेख्य रूपमा बढेका छन्। यो हैसियतमा रहेका विदेशीको संख्या ३७.२ प्रतिशतले बढेर ३ लाख ९० हजार २९६ पुगेको छ। यस कार्यक्रममा एसएसडब्लू १ अन्तर्गत अधिकतम ५ वर्षसम्म बस्न पाइन्छ भने एसएसडब्लू २ अन्तर्गत दीर्घकालीन रूपमा बसोबास गर्न र परिवारलाई समेत जापान ल्याउन सकिने व्यवस्था छ।

रेस्टुरेन्ट क्षेत्रतर्फ एसएसडब्लू १ कामदारको संख्या फेब्रुअरी २८ सम्म ४६ हजार पुगेको थियो। यो संख्या मे महिनामा तोकिएको ५० हजारको सीमा नाघ्ने अनुमान भएपछि अप्रिल १३ देखि नयाँ प्रमाणिकरण प्रक्रिया स्थगित गरिएको छ।

राष्ट्रियता अनुसार हेर्दा चीनका नागरिक सबैभन्दा धेरै छन्। जापानमा बसोबास गर्ने चिनियाँ नागरिकको संख्या ९ लाख ३० हजार ४२८ पुगेको छ। त्यसपछि भियतनामी नागरिक ६ लाख ८१ हजार १०० र दक्षिण कोरियाली नागरिक ४ लाख ७ हजार ३४१ जना रहेका छन्। शीर्ष १० मुलुकमध्ये दक्षिण कोरिया र ब्राजिलका बासिन्दाको संख्या केही घटेको छ भने म्यानमारबाट आएका बासिन्दा ३५.७ प्रतिशत र इन्डोनेसियाबाट आएका बासिन्दा ३३.२ प्रतिशतले बढेका छन्।

जापानमा दीर्घकालीन जनसंख्या घट्दै गइरहेको र श्रमशक्ति अभाव गहिरिँदै गएको अवस्थामा विदेशी बासिन्दाको संख्या तीव्र रूपमा बढिरहेको देखिन्छ। तर, विदेशी जनसंख्या बढेसँगै रोजगारी, भाषा, बसोबास, शिक्षा, सामाजिक सुरक्षा र स्थानीय समुदायसँग सहअस्तित्वका विषयहरू जापानका लागि अझ महत्वपूर्ण नीतिगत चुनौती बन्दै गएका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार