काठमाडौं । जापानी डरावना साहित्यका चर्चित लेखक कोजी सुजुकीको शुक्रबार टोकियोस्थित एक अस्पतालमा निधन भएको छ । उनकाे ६८ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

सुजुकीले सन् १९९० मा ‘राकुएन’ (प्याराडाइज) नामक उपन्यासमार्फत साहित्यिक यात्रा सुरु गरेका थिए । उक्त कृतिले जापान फ्यान्टासी उपन्यास पुरस्कारअन्तर्गत उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो।

उनले सन् १९९१ मा प्रकाशित गरेको चर्चित उपन्यास रिङले उनलाई विश्वभर परिचित बनाएको थियो। उक्त उपन्यासमा आधारित चलचित्र जापानसहित विभिन्न देशमा निर्माण भएका थिए र ती अत्यधिक सफल बनेका थिए। त्यसपछि सुजुकीलाई जापानी डरावना साहित्यको अग्रणी व्यक्तित्वका रूपमा हेरिन थालिएको थियो।

उनका कृतिहरूले जापानभित्र मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा पाएका थिए। ‘रासेन’ (स्पाइरल) ले जापानको प्रतिष्ठित एजि योशिकावा साहित्यिक नवप्रतिभा पुरस्कार जितेको थियो भने ‘एज’ ले अमेरिकामा प्रदान गरिने शर्ली ज्याक्सन अवार्ड प्राप्त गरेको थियो।

सुजुकीका अन्य चर्चित कृतिहरूमा ड्राक वाटर, ‘कामिगामी नो प्रोमेनेड’ तथा ‘युबिक्विटस’ रहेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार