टोकियो । विद्यार्थीका रूपमा जापान आउने धेरै नेपाली युवाहरूको सपना हुन्छ- पढाइ पूरा गर्ने, राम्रो काम पाउने र भविष्य सुरक्षित बनाउने। तर, त्यही भीडबाट केही युवाहरू यस्ता पनि निस्किन्छन्, जसले कामलाई केवल आम्दानीको माध्यम होइन, सिकाइ, अनुशासन र व्यवसायिक यात्राको आधार बनाउँछन्। चितवन भरतपुर, शुक्रनगरका निरज पाण्डे त्यस्तै उदाहरणमध्ये एक हुन्।

सन् २०१२ अक्टोबरमा विद्यार्थीका रूपमा जापान आएका निरजको सुरुवाती यात्रा ओकिनावाबाट सुरु भएको थियो। नयाँ देश, नयाँ भाषा, फरक संस्कृति र अनजान वातावरणबीच उनले विद्यार्थी जीवनको पहिलो चरण ओकिनावामा बिताए। त्यसपछि चिबामा रहेको भोकेसनल स्कुल ‘चिबा मोड’ मा अध्ययन गर्दै उनले आफ्नो जापान बसाइलाई थप व्यवस्थित बनाउँदै लगे।
अध्ययनकै क्रममा निरजले कन्भिनियन्स स्टोर मिनिस्टपमा पार्टटाइम काम सुरु गरे। धेरै विद्यार्थीका लागि पार्टटाइम काम केवल खर्च धान्ने माध्यम बन्ने गर्छ। तर निरजका लागि त्यो काम जापानी सेवा क्षेत्र बुझ्ने एउटा खुला कक्षा बन्यो। ग्राहकसँग गर्ने व्यवहार, समयको पालना, सामान व्यवस्थापन, स्टोर सञ्चालन, कर्मचारी अनुशासन र जापानी कार्यशैली- यी सबै कुरा उनले त्यहीँबाट सिके। यही अनुभव पछि उनको व्यवसायिक यात्राको बलियो जग बन्यो।
आज निरज आफैँ चिबा प्रिफेक्चरका विभिन्न सहरमा ५ वटा मिनिस्टप स्टोर सञ्चालन गर्ने व्यवसायी बनेका छन्। जापानको प्रतिस्पर्धात्मक बजारमा कन्भिनियन्स स्टोर सञ्चालन गर्नु सामान्य कुरा होइन। अझ विदेशीका रूपमा जापानी प्रणाली, भाषा, ग्राहक सेवा र व्यवस्थापनका नियमहरू बुझेर व्यवसाय विस्तार गर्नु आफैँमा चुनौतीपूर्ण विषय हो। तर, निरन्तर मेहनत, स्पष्ट लक्ष्य र कामप्रतिको गम्भीरताले निरजलाई विद्यार्थी जीवनबाट व्यवसायीको पहिचानसम्म पुर्याएको छ।

हाल उनले सञ्चालन गरिरहेका स्टोरहरूमा नेपाली, भियतनामी, मंगोलियनलगायत विभिन्न देशका करिब ७५ जना कर्मचारी प्रत्यक्ष रूपमा कार्यरत छन्। फरक भाषा, फरक संस्कार र फरक पृष्ठभूमिका कर्मचारीलाई एउटै प्रणालीमा मिलाएर काम गराउनु आफैँमा व्यवस्थापकीय क्षमता चाहिने विषय हो। निरजका अनुसार कर्मचारी व्यवस्थापनमा सन्तुलन, विश्वास, स्पष्ट जिम्मेवारी र अनुशासन महत्वपूर्ण हुन्छ। लगानीको तुलनामा आम्दानी सन्तोषजनक रहेको बताउँदै उनी कन्भिनियन्स स्टोर व्यवसायमा धैर्य र व्यवस्थित सोच आवश्यक हुने बताउँछन्।
निरजको व्यवसायिक यात्रामा सन् २०१८ नोभेम्बर महत्वपूर्ण मोड बन्यो। अध्ययन पूरा गरेपछि उनले आवधिक करारमा मिनिस्टपमा काम सुरु गरेका थिए। त्यतिबेला उनले २ वर्षभित्र आफैँ स्टोर सञ्चालन गर्न सक्षम बन्नुपर्ने चुनौती स्वीकार गरेका थिए। त्यो केवल करारको शर्त मात्र थिएन, उनको आफ्नै आत्मविश्वास र भविष्यप्रतिको परीक्षा पनि थियो। चुनौतीलाई अवसरमा बदल्दै उनले अध्ययन सकेको करिब २ वर्षपछि आफ्नै व्यवसाय सुरु गरे। त्यही निर्णयले आज उनलाई ५ वटा स्टोर सञ्चालन गर्ने अवस्थासम्म ल्याइपुर्याएको छ।
विद्यार्थी जीवनदेखि व्यवसायसम्मको यात्रा सजिलो थिएन। भाषागत कठिनाइ, जापानी कार्यशैली बुझ्ने चुनौती, प्रतिस्पर्धात्मक बजार, कर्मचारी व्यवस्थापन र समुदायभित्र व्यवसायबारे गहिरो अध्ययनको कमी—यी सबैसँग उनले प्रत्यक्ष रूपमा सामना गरे। तर उनी विश्वास गर्छन्, जापानमा काम वा व्यवसाय गर्न चाहनेहरूले केवल काम गरेर मात्र पुग्दैन। हरेक दिन सिक्ने बानी, अनुशासन, समयको मूल्य, लक्ष्यप्रतिको स्पष्टता र निरन्तर आत्मविकास आवश्यक हुन्छ।
निरजको एउटा विचार विशेष प्रेरणादायी छ—“हरेक समय र हरेक दिन एउटा विद्यालय हो।” उनका लागि काम गर्ने ठाउँ पनि सिक्ने ठाउँ हो, ग्राहकसँगको संवाद पनि सिकाइ हो, गल्ती पनि अनुभव हो र चुनौती पनि अवसर हो। यही सोचले उनलाई सामान्य पार्टटाइम कामदारबाट व्यवसाय सञ्चालन गर्ने नेतृत्वसम्म पुर्याएको देखिन्छ।

चिबामा अध्ययन गर्दाताका सन् २०१४ देखि नै उनी नेपाली समुदायका गतिविधिमा पनि संलग्न हुँदै आएका थिए। स्कुलमै आयोजना हुने दसैं फेस्टिभलजस्ता कार्यक्रमबाट सुरु भएको उनको सामुदायिक सहभागिता अहिले एनआरएनए चिबासम्म जोडिएको छ। हाल उनी एनआरएनए चिबाको वर्तमान कार्यसमितिमा उपसंयोजकका रूपमा सक्रिय छन्। व्यवसायसँगै समुदायप्रतिको चासो र सहभागिताले उनको सामाजिक पहिचानलाई पनि बलियो बनाएको छ।
जापानमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूका लागि निरजको यात्रा एउटा स्पष्ट सन्देश हो- विद्यार्थी जीवन केवल पढाइ र पार्टटाइमको सीमित घेरामा बाँधिनु हुँदैन। पार्टटाइम काम पनि भविष्यको व्यवसायिक आधार बन्न सक्छ, यदि त्यसलाई सिकाइको दृष्टिले हेर्न सकियो भने। आज गरेको सानो कामले भोलि ठूलो अवसरको ढोका खोल्न सक्छ, तर त्यसका लागि धैर्य, अनुशासन र दीर्घकालीन सोच आवश्यक हुन्छ।
निरज पाण्डेको कथा जापानमा अवसर नभएको होइन, अवसरलाई चिन्न र त्यसका लागि आफूलाई तयार बनाउनुपर्ने रहेछ भन्ने उदाहरण हो। ओकिनावाबाट सुरु भएको विद्यार्थी जीवन, चिबाको अध्ययन, मिनिस्टपको पार्टटाइम, आवधिक करार, आफ्नै व्यवसाय र अहिले ५ वटा स्टोर सञ्चालनसम्मको यो यात्रा मेहनत, लगनशीलता र व्यवसायिक सोचको परिणाम हो।
जापानमा रहेका नयाँ पुस्ताका नेपाली विद्यार्थीहरूका लागि उनको अनुभवले भन्छ- कामलाई सानो नठान्नुहोस्, सिकाइलाई कहिल्यै नछोड्नुहोस्, अनुशासनलाई बोझ होइन, सफलताको आधार सम्झनुहोस्। किनभने निरन्तर मेहनत, स्पष्ट लक्ष्य र सही सोच भए जापानमा विद्यार्थीबाट व्यवसायी बन्ने यात्रा असम्भव छैन।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




