टोकियो । मध्यपूर्वको अवस्थाका कारण आपूर्तिमा असर परेपछि जापान सरकारले चिकित्सा संस्थाहरूका लागि सरकारी भण्डारबाट मेडिकल पञ्जा बजारमा उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे १८ तारिखदेखि पञ्जा खरिदका लागि आवेदन स्वीकार गर्न सुरु गर्ने घोषणा गरेको छ।

मन्त्रालयका अनुसार, आवश्यक मात्रामा पञ्जा आपुर्ति गर्न कठिनाइ भोगिरहेका चिकित्सा संस्थाहरू यस योजनाका लक्षित संस्था हुन्। आवेदन स्वीकृत भएपछि मे महिनाको अन्त्यतिरदेखि क्रमशः पञ्जा वितरण गरिने बताइएको छ।

मेडिकल पञ्जाको आपूर्तिमा पछिल्लो समय मध्यपूर्वको परिस्थितिका कारण असर परेको छ। विशेषगरी दन्त क्लिनिकलगायत केही चिकित्सा संस्थाहरूमा आवश्यक मात्रामा पञ्जा जुटाउन कठिनाइ देखिएको भन्दै सरकारले भण्डारमा रहेका करिब ५ करोड थान पञ्जा बजारमा पठाउने निर्णय गरेको हो। सरकारसँग हाल बजारमा पठाउन मिल्ने करिब ५ अर्ब थान मेडिकल पञ्जा रहेकोमा पहिलो चरणमा ५ करोड थान वितरण गरिनेछ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे १४ तारिखमा आफ्नो वेबसाइटमार्फत चिकित्सा संस्थाहरूलाई खरिद प्रक्रियाबारे जानकारी सार्वजनिक गरेको छ। आवेदन चिकित्सा संस्थाहरूका लागि प्रयोग गरिने “जी-मिस” प्रणालीमार्फत गर्नुपर्नेछ।

पञ्जा १ सेटमा १ हजार थान हुने छ। यसको मूल्य करसहित ५ हजार ९८० येन तोकिएको छ। चिकित्सा संस्थाले अनुमानित खपतका आधारमा खरिद गर्न पाउने सेट संख्या निर्धारण गरिने मन्त्रालयले जनाएको छ।

आवेदन प्रणालीमार्फत पेस भएपछि पञ्जा ठूला अनलाइन बिक्री सेवा प्रदायकमार्फत मे महिनाको अन्त्यदेखि क्रमशः सम्बन्धित चिकित्सा संस्थाहरूमा पठाइनेछ। मन्त्रालयका अनुसार, आवश्यक परेमा आगामी दिनमा थप मेडिकल पञ्जा पनि सरकारी भण्डारबाट बजारमा छाडिनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार