टोकियो । जापानमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा, एकता तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित बिहुँकोट समाज जापानका विभिन्न क्षेत्रीय समितिहरूले बृहत् बार्बिक्युसहित विविध कार्यक्रम आयोजना गर्ने भएका छन्।

समाजअन्तर्गत कान्साई क्षेत्रीय समितिले यही मे २१ तारिख बिहीबार ओसाकामा “बार्बिक्यु तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रममा नेपाली समुदायबीच आत्मीय भेटघाट, सांस्कृतिक आदानप्रदान तथा मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ। कार्यक्रमको विशेष आकर्षणका रूपमा नौमती बाजा समूह ओसाकाको सांगीतिक प्रस्तुति रहने बताइएको छ।

कान्साई क्षेत्रीय अध्यक्ष लक्ष्मण न्यौपानेले परदेशमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले नेपाली समुदायबीच भाइचारा, सहकार्य र आत्मीयताको भावना मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, बिहुँकोट समाज जापानको कान्तो क्षेत्रीय समितिले मे २३ तारिख शनिबार टोकियोस्थित कासाई रिङ्काई पार्कमा “समर बार्बिक्यु कार्यक्रम” आयोजना गर्ने तयारी गरेको छ। कार्यक्रममा बार्बिक्यु पार्टीसँगै बाल विशेष प्रस्तुति, वक्तृत्वकला प्रतियोगिता, म्युजिकल चेयर तथा विविध मनोरञ्जनात्मक गतिविधि समावेश गरिने बताइएको छ।

कान्तो क्षेत्रीय संयोजक कृष्णप्रसाद कँडेलले जापानमा हुर्किरहेका नेपाली बालबालिकामा आफ्नो भाषा, संस्कृति र जन्मभूमिप्रतिको भावना विकास गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले जापानमा रहेका सम्पूर्ण अभिभावकहरूलाई आफ्ना बाबुनानीहरूको सहभागिता सुनिश्चित गराउन आग्रह गर्नुभयो।

बिहुँकोट समाज जापानका केन्द्रीय अध्यक्ष टिकाराम कँडेलले परदेशमा रहेर पनि नेपाली समुदायलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने उद्देश्यले समाजले निरन्तर सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन अनुरोध गर्नुभएको छ।

आयोजकका अनुसार, ओसाका र टोकियोमा आयोजना हुने दुवै कार्यक्रमले परदेशमा रहेका नेपालीहरूबीच आत्मीयता, सहकार्य र नेपाली संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार