जापान टेकेको १ दशकपछी यो लेख लेख्दै छु।यसो त बिदेश भनेको कुनै सजिलो ठॅाउ होईन त्यही माथी भाषाको अप्ठ्यारो,कामको चापले गर्दा जापान सोंचेभन्दा गार्हो पनी छ र अवसरका प्रचुर संभावना पनी छन्।कति कुराहरू भोगेका,कति देखेका र कति सुनेका आधारमा यो लेख लेख्दै छु।पाठक बर्गले पनि त्यही अनुसार बुझिदिनुहुनेछ भन्ने अपेक्षा छ।जापनमा हामी नेपालीहरूले भोग्नुपरेका समास्या,चुनौति र अवसरका पाटाहरूलाई केलाउने प्रयत्न गरेको छु!

जापान यशियाको मात्रै नभएर बिश्वमै आर्थिक पुंजी बढी भएको टप ५ देशभित्र पर्दछ।नेपाल वरिपरी भारत,चिनले  घेरिएको र समुद्रको सिमाना संग नजोडिएको देश हो।जापान भने त्यसको उल्टो वरिपरी कुनै देशको भुभाग संग नजोडिएर समुन्द्रले घेरेको देश हो।जापानको शेत्रफल करिब ३ लाख ७८ हजार बर्गकिलोमिटर छ।यो ४७ बटा प्रिफेक्चरमा बॅाडिएको छ भने यहॅाको जनसॅख्या करिब १३ करोड छ!यहॅा धेरै बर्ष पहिलेबाटनै जनसंख्या बृद्दिदर माईनस मा छ।

धेरैबर्ष अगाडीबाट नै जापान हामी नेपालहरूको लागी रोजगारीको गन्तब्य स्थल बनेको छ।बिगत १२/१५ बर्ष अगाडी त्यती धेरै नेपाली हरू थिएनन् केही कुक भिषामा र केही स्टुडेन्ट भिषामा आउने गर्दथे।१२/१५ बर्ष अगाडी करिब २५/३० हजार नेपालीहरू भएका जापानमा पछिल्लो समय नेपालीहरूको संख्यामा उल्लेख्य बृद्दि भई करिब ३ लाख प्लस भईसकेका छौं।जापान मेहनत,समयको अनुशासन र किफायती समान उत्पादनको निम्ति संसारमै परिचित छ।

हालको अवस्थामा नेपालबाट सजिलै आउने माध्यम भनेको कुक भिषा,स्टुडेण्ट भिषा,टुरिस्ट भिषा,डिपेन्डेन्ट भिषा र पछिल्लो समय ब्याचलर भिषा भनेर चिनिएको गिजिन्कोकु भिषा हुन्।अरू धेरै माध्यमहरू पनी छन् मैले हामी नेपाली हरु प्रायःआउने भिषाको मात्र उल्लेख गरेको छु।शुरूमा कुरा गरौं कुक भिषाको जापानमा रेष्टुरेन्ट खोलेर आवश्यक पर्ने कामदार कुक नेपालबाट ल्याउने ब्यवस्था छ।यो भिषा प्राप्त गर्न जापानको कम्पनिको र ल्याउने कुक हरूको आवश्य कागजातका प्रकृया पुगेपछी अप्लाई गर्न मिल्दछ।कागजातको डिटेल्स लेख्दा लामो हुने भएकोले मैले बर्णन गरिन।जापानले कागजातमा पूर्ण बिश्वास गर्ने हुनाले त्यसको फाईदा उॅठाउदै नक्कलि कागजात बनाउन त हामी नेपालीहरूलाई कस्ले सक्छ र?कतिपय साहुजीहरूले नेपालबाट कुक ल्याउनकै लागी मात्र रेष्टुरेन्ट खोलेको आरोप लाग्दछ।कुक ल्याईसकेपछी सम्झौता अनुसार तलब सुबिधा नदिने,काममा बढी पेल्ने वा बिभिन्न किसिमका मानसिक ट्रचर दिने भन्ने हल्लाहरू पनी सुनिन्छ।भने कतिपय रेष्टुरेन्ट राम्रो संग चलाएर जापनिजले समेत प्रशंशा गरेको पनी सुनिन्छ र जापनिज हरूलाई पनि रामदारको रूपमा राखेको देख्न सकिन्छ।आउने मान्छेहरूमा पनि संम्बन्धित काममा दक्षता नहुनु र भाषा पनि नहुनेहरूले बिभिन्न किसीमका समस्याको सामना त गर्नुपर्ने त छॅदै छ।

अब कुरा गरौं स्टुडेन्ट भिषाको अहिले जापानमा भएको धेरै संख्या स्टुडेन्टको छ।नेपालमा प्लस टु पास गरेपछी आउन पाईने र भिषा पाउन पनी त्यती झन्झट छैन।पछिल्लो समय नेपाली बढेसंगै स्टुडेन्टका समस्याहरू पनी बढ्दै गएको देखिन्छ।स्टुडेन्टले हप्तामा लिगल रूपमा २८ घण्टा भन्दा बढी काम गर्न मिल्दैन २८ घण्टाको कामले आफ्नो खर्च ठिक्कै हुन्छ।त्यो पनी समयमै काम पाईने हो की होईन।ठॅाउ अनुसार पनि फरक पर्छ।त्यसमाथी नेपालबाट रिण खोजेर आउनेको समस्या छुट्टै हुन्छ।केही समयपछी फेरी फी तिर्ने बेला आईसक्छ।भाषा स्कुल सक्यो फेरी सेन्मोन दाईगाकुको  चटारो,खाने बस्ने रूपको पनि आफैले ब्यवस्था गर्नुपर्यो। त्यपछी पनी वर्किक भिषा बनाउनको दुख।काम मात्र गरौं भने पनी भाषा कमजोर हुने,कामनै थोरै गरेर पढौं भने खर्चको ब्यबस्थापन गर्न गार्हो।आफ्नै पैसा लगानी गरेर आउनेलाई त त्यती समस्या नहोला।तर हामी नेपाली धेरैको ब्यथा एउटै हो।रिन खोजेर त्यै माथी चर्को ब्याजमा।यता आफ्नै खर्च धान्न मुस्किल छ उता घरबाट रिन नतिरेको गुनासो आंउछ। बिचरा भर्खरैका कलिला भाईबैनीहरूका दुःख पनी अनेक छन्।यही समयमा कामलाई पनी र आफ्नो करियरलाई पनी ध्यान दिएर भाषामा मेहनत गरेकाहरूले पछि सबैभन्दा राम्रो अवसर पनि पाएको देखिन्छ।त्यसैले पछिलाई सोच्ने हो भने त भाषानै राम्रो बनाउन सक्नु उत्तम हुन्छ।

जापान गएपछी त पैसैपैसा हुन्छ सोंचेर स्टुडेन्टमा आउने सोंच बनाउनु भएको छ भने बिचार गर्नुहोला।होईन पहिला पढाईमै ध्यान दिएर आफुले रोजेको शेत्रको पढाई गर्दै भाषा राम्रो बनाउंछु भन्ने हरूलाई त राम्रो छ।नेपालमा खासै काम गर्ने बानी नपरेका,ओठ निचोर्दा दुध आउलाझैं भर्खरका भाईबैनीहरू नसुतेको २ दिन भयो भन्दै काममा दौडिन्छन् ।यो कुरा देख्दा,सम्झदा र नेपालका नेताहरूले देश बिकासमा देखाएको उदासिनता देशमा अवसर हरू नहुनुको पिडा,परिवार संग टाढा हुनुको एक्लोपन ले झन दुखि बनाउंछ।जाबो जिबनयापन गर्नपनी  अरूको देशमा कति दुख गर्ने भन्ने कुरा मनमा खेल्दछ।कहिॅलेकॅाही समुन्द्रको किनार,पार्कमा गएर खिचेको फोटोजस्तो सरल हुंदैन बिदेशको लाईफ रिल मा एउटा र रियलमा अर्कै हुन्छ।तर जस्ते अप्ठ्यारो आईपरेपनी आफ्नो दुख त आफैले गर्ने हो।बिधार्थी भाईबैनीहरूलाई आज दुख भयो भन्दैमा नआत्तिकन मेहनतका साथ पढ्न र आफ्नो कर्म गर्न सुझाब दिन चाहन्छु।दुख नगरी सुख पनी त पांईदैन फेरी।

अहिले नेपालीमाझ चलेको अर्को भिषा हो गिजिन्कोकु भिषा।यो भिषा जापानमा आएर भाषा स्कुल पढिसकेपछी नेपालमा पनी ब्याचलर पास भएकोले अप्लाई गर्न मिल्दछ!वा जापानमा आएर सेन्मोन,दाईगाकु पढेपछी अप्लाई गर्न मिल्दछ।पछिल्लो समय जापानमा भाषा स्कुल नपढेपनी नेपालमा ब्याचलर गरेकोलाई सिधै यो भिषा दिएको छ।मैले माथि नै भनिसके हामी नेपालीहरूलाई ढॅाट्न र छल्नमा कस्ले सक्छ र?बिभिन्न किसिमका नक्कलि डकुमेन्ट बनाएर बिभिन्न कम्पनिले,ब्यक्तिले नेपालबाट ल्याउने गरेको छन्।पैसा प्रशस्त आउने भएकोले जापानका हाकेन कम्पनिमा लिंक भएकाहरू यस कार्यमा बढी छन्।बास्तबमा यो भिषाको शेत्र फराकीलो छ ।यो भिषाले लेबर काम नगरेर सम्बन्धित क्षेत्रमा बिज्ञताको काम गर्नुपर्ने हो।तर कागजात बोल्ने देशमा नक्कली कागजात पेश गरेर यसको दुरूपयोग गर्ने बढी छन्।र त जापान आईसकेपछी बिभिन्न समस्याहरू संग सामना गर्नुपर्ने हुन्छ।कतिपयले भने नेपालबाटै राम्रो भाषा पढेर आफ्नो दक्षताअनुसारको फिल्डमा आएर राम्रो अवसर पाएका पनी छन्।

पछिल्लो समय डिपेन्डेन्ट भिषामा आउने पनी धेरै हुनुन्छ!जापानमा आफ्नो परिवार भएर निश्चित मापदण्ड पुरा गरेका कागजात भए अप्लाई गर्न मिल्दछ।यसमा पनी महिलाहरू बढी हुनुन्छ यो भिषालाई पनी काम गर्ने अनुमति २८ घण्टा मात्र हो तर खर्च ब्यावस्थापन गर्न मिलेसम्म बढि कामगर्ने धेरैनै हुनुन्छ।जापान कामलाई प्राथामिकता दिने देश हो।खटेर काम गर्न सक्ने,भाषा राम्रो भएकोहरूलाई त्यती गार्हो नहोला तर खटेर काम गर्न नसक्ने,भाषा पनि कमजोर हुनेहरूलाई जापानका काम गार्हो नै हुन्छ।जापानमा सबै खर्चको ब्वस्थापन आफैले गर्नुपर्ने हुंदा सकिनसकी पनी काममा जानुपर्ने बाध्यता त छदैं छ।
जापान कमाईपनि भएको र खर्च पनी हुने देश हो।पछिल्लो समय तलबको अनुपातमा मंहगिको मार बढी छ।मलाई त लाग्दछ जापान एउटा दलदल हो।यहॅा पसेपछी उम्कन गार्है पर्दछ।न टन्न पैसा कमाएर फर्किन सकिने न यतै बन्दोवस्त संग बस्न सकिने।यस्तै दोधारमा दौडिंदा दौडिंदै समय बितेको पत्तै हुंदैन।तर यसो भनिरहंदा जापानमा राम्रोसंग पढेर,मिहेनत गरेर राम्रो अवसर पाउनुभएका र डिपेन्डेन्ट ल्याएर दुबैजना मिलेर राम्रो कमाई गर्नेपनी धेरै हुनुन्छ।मैले जनरल्ली रूपमा कुरा गर्न खोजेको।तर जे भएनी जापानमा परिवार ल्याउन त्यती झन्झट नहुनाले परिवारसंगै बस्न पाउने कुरामा भने राम्रो नै छ।

आफ्नो देशमा त भनेजस्तो हुंदैन भने अरूको देशमा झन् आफुले चाहेजस्तो कसरी हुन्छ र?जापानमा हातमा जॅागर र मुखमा भाषाको राम्रो स्किल छ भने त्यती गार्हो भने हुंदैन।तर यि २ वटै कुरा छैनन् भने त अति नै गार्हो हुन्छ।त्यसो त जापान बिदेशिलाई नियतै राखेर पेल्ने देश भने होईन।यहांको तलब स्केल पनि बिदेशीलाई भनेर फरक छैन।राज्यले प्रदान गर्ने सेवा,सुबिधामा पनि फरक गरेको पॅाईदैन!उदाहरणको लागी कोरोनाको समयमा राज्यबाट दिईएको राहत,सौलियत रिनमा पनी कुनै फरक गरिएन।त्यो बेलामा धेरै नेपालीले राहत र सहुलिएत रिन लिएर अवस्था सहज बनाईयो।त्यस समयमा जापानमा रेष्टुरेन्ट चलाएका हरूलाई राहत र रिण त करौंडौंमा दियो।कतिले त्यही पैसाले जग्गा जमिन सम्म जोडे।कति त पछि तिर्ने बेलामा अमेरिका,अष्ट्रेलिया,न्युजिल्याण्ड तिर पनी टाप कसे भने सुनिन्थ्यो।तर धेरैले त्यो पैसाको सदुपयोग गरेर आफ्नो ब्यसाय बिस्तार गरेका छन्।त्यस समयमा जापानका प्रधानमंत्री आबेसान थिए।पछि उनको नारा प्रान्तमा गोली हानी हत्या गरियो।उनको मृत्युमा धेरै नेपाली स्तब्ध भएका थियौ।जापानमा बच्चा १८ बर्ष हुंदा सम्म राज्यले केही रकम दिने गर्दछ।यो रकममा पनी कुनै बिभेद छैन।यहॅा आपराधिक गतिबिधिहरू पनि एकदम न्युन छन्।हामी मज्जाले ढुक्कसंग रातिमा एक्लै हिड्न सकिन्छ।महिला र पुरूषमा पनि त्यसरी बिभेद गरेको देखिंदैन।जापानमा पनि राम्रो संग पढेर मेहनत गरेर बिभिन्न प्रतिष्ठित पेशा गरिरहनु भएका पनि हुनुन्छ।राम्रा ठुला कम्पनिमा ठुलै पदमा बसेर काम गर्ने पनि हुनुन्छ।योग्यता क्षमताको सही मुल्याङकन गर्ने देश हो जापान।तर अपशोच नियतिले ठगेपछी कहिंलेकाहिं योग्यता क्षमता हुंदाहुंदै पनि देखाउने ठॅाउ सही नपर्न पनि सक्छ। कम्पनि वा ब्यक्तीले कुनै कारणबस बिदेशीलाई अलि हेपाह प्रवृति राखेको चॅाही यदाकदा देख्न,सुन्न सकिन्छ!

नेपालीको संख्यामा बृद्दि भएसंगै बिभिन्न प्रवृति पनि देखा परेका छन्!जापान रूलहरूको एकदम फ्लो गर्ने देश हो।यहॅा सेकेण्ड,सेकेण्डको महत्व हुन्छ।त्यसैले रूल फ्लो नगर्ने,बिभिन्न गैरकानुनी कृयाकलाप गरेको आरोपमा नेपालीहरूलाई पनी प्रहरीले अनुशन्धानको लागी नियन्त्रणमा लिएको समाचार बेलाबखत सुन्न सकिन्छ।अस्ति भर्खर नागोयामा लागुऔषको ओसारपसारको आपोपमा २ जना नेपालीलाई नियन्रणमा लिएको कुरा समाचारमा आएको थियो।यस्ता बिभिध कारणले पनी आजभोली बिदेशीलाई दिने भिषाका मापदण्डहरू पनि अल्लि कडा बनाउंदै लगेको देखिन्छ।जर्नली जापानमा १० बर्ष बसेपछी एज्यु अप्लाई गर्न मिल्दछ।तर पुरै मापदण्ड पुरा भएका छैनन् भने जति बर्ष बसेपनी एज्यु दिंदैन।कति पय नेपालीहरू यंहीको पासपोर्ट लिएर पनी बसेको छन्।त्यसको लागी पनि निश्चित मापदण्ड पुरा गर्नुपर्छ।जापान धेरैबर्ष बसेकै आधारमा पॅाईदैन।जापानिज पासपोर्ट पाउने मापदण्ड पुरा हुंदापनी देशको पासपोर्ट त्याग्न नसकेर जापनिज पासपोर्ट अप्लाई नगर्ने नेपाली पनी धेरै छन्।तर एज्यु दिने कुरामा भने अल्लि खुकुलो गरिदिए हुन्थ्यो भन्ने सबैको चाहना हुन्छ।तर के गर्नु यिनैको कानुन यिनैले जानुन।

परिवार संगै भएपछी सन्तान जन्माउने कुरा पनी स्वाभाबिक भैहाल्यो।एकजनाको कमाई राम्रो भयो भने त त्यती समस्या नहोला तर २ जनाले काम नगर्दा सम्म खर्च ब्यवस्थापनमा समस्या हुदॅा गार्हो नै छ।जापानमा बच्चा जन्माउन हेल्थ ईन्सुरेन्स छ भने त्यती खर्च छैन तर आफ्नो दैनिक खर्च भने ब्यवस्थापन गर्नु पर्यो!त्यसैले बच्चा जन्माउन ढिला हुने,जन्मान्तर धेरै हुने कुराहरू पनी छंदै छन्!हामी नेपालीहरूलाई अझ दोंधारमा पार्ने कुरा भनेको बच्चा जन्माईसकेपछी पछी कहॅा पढाउने भन्ने कुरा हो।आफ्नो भबिष्य जापानमा देखेर छोराछेरीलाई पनि यॅही राख्ने सोंच्नुभएकोले त निस्फीक्री यहीं पढाउनुहुन्छ।तर पछी देश फर्किने सोंच राख्नुभाकाहरू अलमल्लमा परेको देख्छु।यहां पढॅाउ भने अंग्रेजी चल्दैन पछी नेपाल फर्कदॅा समस्या आउने।हुन त नेपाली स्कुल पनी १/२ वटा छन् क्यारे त्यो फेरी पाएक पर्नु पर्यो।पाएक परे पनी मंहगो भएको गुनासाहरू पनि ॲाउछन्।तथापी धेरैजनाले मिलाएर नेपाली स्कुलमा पनी पढाउनु भएको छ।

एक जनाले मात्र काम गरेर खर्च ब्यवस्थापन गर्न सक्ने भए त उत्तम भयो।नभए गार्हो हुन्छ।बिचरा आमाहरू बच्चालाई केही समयपछी होईकुएन(मन्टेश्वरी)मा पठाएर समय ब्यवस्थापन गरी काम गर्नेहरू पनी धेरै छन्।मन्टेश्वरीमा जापनिज भाषा सिक्यो,घरमा नेपाली सिक्यो,मोबाईलमा अंग्रेजी सिक्यो बिचरा बच्चा पनी कन्फ्युजन भएको देखिन्छ।जापानमा जन्मेर घरमा नै बसिरहेको बच्चा छ भने राम्रो कम्युनिकेशन र माहोल नहुनाले बोली समय अनुसारको प्रष्ट नफुट्ने समस्या धेरै छ।जापानमा २ पैसा कमाउन आईसकेपछी अलिअलि बचत त गर्नुपर्यो नी भनेर धेरै जनाले नेपालमा छोड्ने पनि गर्दछौं।यसको पिडा फेरी छुट्टै छ।सबैको परिवारको आ-आफ्नै समस्याहरू हुन्छन् बच्चालाई राम्रो संग हेरचाह गर्ने माहोल पनी हुनुपर्यो!अर्को कुरा सानो बच्चाको जिम्मा लिएर रेखदेख गर्नु चानचुने कुरा हेईन।त्यैपनी बच्चालाई नेपालमा राखेर जॅापानमा मेहनत गरेका आमाहरू वा आफुसंगै राखेर बच्चाको स्कुल,काम मिलाएर भोलीका लागी खटिरहेका आमाहरू प्रति उच्च सहानुभुती छ।बच्चालाई आफुबाट छुटाएर राख्न त कुन आमाबाको मनले मान्छ र”कोखीको घाले त पोलिहाल्छ नी”।फेरी आफ्नी आमासंग छुट्टीएर बसेको दुधे बालकको मनले कति आमा खोज्दो हो।सम्झदा पनि मुटु फुलेर आंउछ।त्यै पनि भबिष्यको लागी भनौं वा बच्चाको लागी भनौं वा परिस्थिति भनौं जे भने पनी मनमा गॅाठो पारेर बच्चासंग छुट्टीनको पिडा कम्तिको हुंदैन।यसका बिभिन्न पक्षको बिश्लेषण  गर्ने जिम्मा पाठक बर्गमानै छोड्न चांहे।

मैले माथिनै पनि भनिसंके यता मिलॅाउदा,उता मिलॅाउदा जापानमा समय बितेको पत्तै हुंदैन।बेलाबेलामा यहॅा यसरी दुख गर्नु भन्दा त देश नै  फर्केर गॅाउको बारी जोतेर बस्न पाए पनी हुन्थ्यो जस्तो लाग्छ।फेरी आजभन्दा भोली राम्रो होला भन्ने आशैमा बित्दो रहेछ।जापान आएर केही समय बितेपछी अलिअलि कमाएर फर्किने पनी हुनुन्छ!

फेरी नेपाल गएर पनी यत्तीको पनि नभए के गर्ने?भन्दै सोंचेर डरैडरले कहरमा बस्ने पनी हुनुन्छ।धन त मान्छेलाई जत्तिबेलै पनी चाहिन्छ!तर जति उमेर बढ्दै जान्छ मान्छेले मनको शान्ति पनि खोज्दो रहेछ।मैले जापानमा भेटेको धेरैलाई मनको शान्ति भएको पाएको छैन।जहिल्लै भागदौड यता टाल्यो उता उद्रने,उता टाल्यो यता उद्रने भनेजस्तो छ।हुन त अर्काको देश सजिलो त कहॅा हुन्छ र तैपनी धेरै कुरामा सम्झौता गर्दै अगाडी बढ्नुपर्ने रहेछ।अरू देशमा पनि धेरै नै होला जापानमा पनि स्ट्रेस र तनाव धेरैमा देख्छु।सोंचेअनुरूपको बचत नहुनु,कामका जटिलता त्यै माथी टुसुक्क बस्न नपाईने जापानको काम,स्वास्थ्यमा केही समस्या आयो भने त झन् गार्हो हुन्छ।तसर्थ जति नै बिजि भएपनी आफ्नो लागी पनी केही समय छुट्टाउनु पर्दछ!जापानमा बियर र चुरोट अत्याधिक खान्छन् कतिपय त तनाव मेट्न पनी जापान आएपछी बियर र चुरोट खान थालेको देखिन्छन्!मान्छे भएपछी भोलीप्रति आशा राख्नु पर्दछ।त्यसैले केही समस्या आयो भन्दैमा नआत्तिकन मनलाई शान्ति राख्ने,बिहान सॅाझ मिलेसम्म योगा,प्राणायम हरू गरेर तनाव काम गर्ने तर्फ ध्यान दिनु पर्दछ।

बिदेश नदेख्दा सम्म रहर लाग्दो रहेछ।भोगेपछी बिस्तारै आफ्नै देश प्यारो लाग्दछ।त्यसैले होला राम्रा-राम्रा उच्चकोटिका जागिर छोडेर पनी केही मान्छेहरू नेपाल नै फर्किन्छन्।केही समयअगाडी मैले जगदिश घिमेरेको अन्तरमनको यात्रा किताब पढेको थिए।उनी बर्षको करोड आउने जागिर छोडेर नेपाल आएको भनेर लेख्याथे।त्यस्तै स्वाणिम बाग्ले,रविन्द्र मिश्र,बिश्व पौडेल,महाबिर पुन,अन्य थुप्रै ब्यक्तीहरू नेपाल फर्कियर आ-आफ्नो क्षेत्रमा गरेकै छन्।बिध्या चॅापागॅाईले चलाउने हेर्ने कथामा पनि धेरै समय विदेशमा बसेर नेपालमा कृषि कर्म गरिरहेका हरूको कथा सुन्दा बडो आनन्द आंउछ।हुन त पैसाले पुगेर पनि फर्किए होलान्।तर अलिअलि जम्मा नहुनेले फर्किएर पनि के  गर्ने?भन्ने कुरा आउन सक्छ। चर्चित ब्यक्ती रास्वपाका सभापती रबि लामिछाने पनि त अमेरीकामा राम्रो तलब छोडेर नेपाल फर्किए।जापानमा केहि समय बिताउनुभएका र अलिअलि जम्मा पनि गर्नुभएका हरू एकदमै दोधारे भएको देख्छु।झ्याप्पै नेपाल फर्कियो भने अहिलेको जस्तो पनि सहज नहोलाकी भन्नु पर्यो,नफर्किंउ भने नेपालमै केही गर्ने मन छ।यस्तै बिचारका द्वन्दबाट धेरै साथीहरू कन्फ्युजनमा रहेका छन्।देशमा राजनितिक स्थिरता हुने हो र सुरक्षीत लगानीको वाताबरण हुने हो भने धेरै नेपाली नेपाल फर्किन्थे होला।आशा गरौं नयॅा बनेको सरकारले धेरै नेपालीलाई आफ्नै देश फर्किएर लगानी गर्ने वाताबरण बनाउने छ।जापानमा अलिक समय बस्नुभएका हरूको के छ योजना?तंपाईहरू देश फर्किएर जिबन जिउने?की जापानमै जिन्दगी कटाउने त?
✍️श्रीराम पौडेल(गुल्मी)हाल-जापान!!


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार